एमाले अध्यक्ष ओलीका कारण एक घण्टा ढिलो गुड्यो जनकपुरधाम–जयनगर रेल

जनकपुरधाम, ८ असोज । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लोकतान्त्रिक समाजवादी पार्टीका सचेतक उमाशंकर अरगरियालगायतका नेताहरुलाई पार्टी प्रवेश गराउन शनिबार धनुषा आइपुगेका छन् ।
गत भदौ २७ गते जनकपुरधाममा जसपाका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, धनुषा कांग्रेसका पूर्वउपसभापति संतोष यादवलगायतका नेताहरुलाई एमाले प्रवेश गराएको केही दिन नबित्दै पूर्वप्रधानमन्त्री ओली आज फेरी धनुषा आइपुगेका हुन् ।

धनुषाको विदेह नगरपालिकाको तिनकौरिया चोकमा आयोजना हुने बृहत जनसभा एवम् पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन ओली आज धनुषा आएका हुन् ।

ओलीले कार्यक्रम स्थलसम्म पुग्नका लागि टिकेट कटाएर रेलको यात्रा गरेका छन् । उनले जनकपुरधामस्थित प्लेटफर्मबाट रेल चढेर महिनाथपुर स्टेशनसम्मको यात्रा गरेका छन् ।
एक घण्टा ढिलो गुड्यो रेल
अध्यक्ष ओलीका कारण शनिबार जनकपुरधाम–जयनगर रेल एक घण्टा ढिलो गुडेको छ ।
जनकपुरधामबाट जनयनगरका लागि प्रत्येक दिन बिहान ११ बजे गुड्ने रेल पूर्वप्रधानमन्त्री ओलीका कारण निर्धारित समयभन्दा एक घण्टा ढिलो मध्यान्ह १२ बजेमात्रै गुडेको हो ।

पार्टी प्रवेश कार्यक्रममा सहभागी हुनका लागि अध्यक्ष ओली रेलबाटै जाने भएपछि निर्धारित समयभन्दा एक घण्टा ढिलो रेल गुडाउनु परेको नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाले बताए ।
झाले भने, ‘अध्यक्षजी रेलबाटै जाने भनेपछि हामीलाई रेल गुडाउन केहीबेर पर्खिनु परेको थियो ।’
उनले रेल सुरु भएको मितिबाट अहिलेसम्म ढिलो कहिल्यै नगुडे पनि एमालेका नेता कार्यकर्ताहरुले आग्रह गरेपछि मात्रै ढिलो गुडाइएको बताए ।

जनकपुरधामबाट ढिलो गुडाइएकोले जयनगरबाट जनकपुरधामका लागि पनि ढिलो गरी नै गुडाइने महाप्रबन्धक झाको भनाइ छ ।
अध्यक्ष ओली तथा एमालेको नेता कार्यकर्ताहरुको रेल यात्राका लागि कुल १४२ वटा टिकेट काटेका थिए । एसी बगीको ५६ र जेनरल बगीको ८६ वटा टिकेट काटिएको महाप्रबन्धक झाले बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


