जनकपुरधाम, ७ असोज । जनता समाजवादी पार्टी नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको छ ।

जसपाको मधेस प्रदेश कमिटीले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति भण्डारीको राजीनामा माग्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।

जसपाले शनिवारदेखि चरणबद्ध रुपमा शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको मुख्य सचिव दिनेश यादवले जानकारी दिए । उनले असोज ८ गते प्रदेशका आठवटै जिल्लाका सदरमुकाममा राष्ट्रपति भण्डारीको कदमको सन्दर्भमा नागरिक समाज, बुद्धिजीवी, व्यापारी, शिक्षक, कानुनी व्यवसायीसँग र सञ्चारकर्मीसँग अन्तरक्रिया गरिने जानकारी दिए ।

त्यस्तै, असोज ११ गते जसपाका भातृ संगठनहरुले राष्ट्रपति भण्डारीविरुद्ध प्रदर्शन गर्दै उनको पुतला जलाउने, १३ गते पालिकास्तरमा अन्तरक्रिया गर्ने र १५, १६, १७ गते पालिका एवं वडा स्तरमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाले दोस्रो पटक पारित गरि पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरी राष्ट्रपतिले वर्तमान संवैधानिक व्यवस्थामाथि प्रहार गरेको जसपाको निष्कर्ष छ ।