मैले बार्सिलोनामा आफ्नो जीवनको पाँच वर्ष खेर फाले : डेम्बेले

एजेन्सी, ७ असोज । स्पेनिस क्लब बार्सिलोनाका विंगर फ्रेन्च विंगर ओस्माने डेम्बेलेले क्लबमा आफ्नो करिअरको पाँच वर्ष खेर फालेको बताएका छन् ।
डेम्बेले जर्मन क्लब बोरुसिया डर्टमण्डबाट सन् २०१७ मा बार्सिलोना पुगेका थिए । तर, उनलाई त्यहाँ अनुकुल हुन लामो समय लाग्यो । गत सिजनदेखि मात्र डेम्बेले खेलाडीका रुपमा बार्सिलोनाबाट खेल्न थालेको प्रतीत हुन्थ्यो ।
स्पेनिस सञ्चारमाध्यम आरएमसीसँगको कुराकानीमा उनले आफ्नो करिअरका बारेमा स्मरण गरेका छन् । र उनले स्वीकार गरेका छन् कि आफ्नो करिअर अझै राम्रो हुन सक्थ्यो । यद्यपी उनी अझै युवा छन् र अन्तिममा सही बाटोमा आएका छन् ।
‘म अन्य मानिसहरुजस्तै युवा थिएँ,’बार्सिलोना आगमनका सुरुवाती वर्षमा उनको जीवनशैलीबारे सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘तर, म त्यो अवस्थाबाट अगाडि बढ्न सफल रहेँ । सन् २०१७ देखि २०२१ सम्म मैले धेरै समय बर्बाद गरेँ । मैले आफ्नो जीवनको पाँच वर्ष गुमाएको छु ।’
फ्रान्सेली राष्ट्रिय टोली सदस्य उनले त्यो समयमा धेरैपल्ट चोटबाट संघर्ष गरिरहे । उनले आवश्यक मात्रामा प्रशिक्षण नपाएका कारण धेरै चोट लागेकोसम्म आरोप लागेको थियो । ‘मलाई ह्याम्स्ट्रिङको चोट थियो । यदि तपाईंले कडा मिहिनेत गर्नुहुन्न भने तपाईं फस्नुहुन्छ,’ उनले थपे, ‘रोनाल्ड कोम्यान र जाभीले मलाई निको हुन सहयोग गरे ।’
अघिल्लो वर्षको डिसेम्बरमै उनी बार्सिलोनासँगको सम्झौता नवीकरण गर्नेबारे अनिर्णित थिए । त्यसका लागि जाभीले ठूलो भूमिका खेले ।
‘जाभीको विश्वाससँगै मलाई पनि यहीँ बस्नुपर्छ भन्ने भयो । बास्तवमा म बार्सिलोनाबाट फेरि च्याम्पियन्स लिग जित्न चाहन्छु,’ उनले भनेका छन्,‘अहिले म ठीक भइसकेको छु । टोलीको विश्वास जित्दै बार्सिलोनाका लागि राम्रो प्रदर्शन गरिरहेको छु ।’
व्यक्तिगत रुपमा बार्सिलोनाबाट च्याम्पियन्स लिग जित्ने आफ्नो लक्ष्य रहेको उनले बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


