काठमाडौं, ७ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री दीर्घबहादुर सोडारीकी श्रीमतीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

शुक्रबार मन्त्री सोडारीकी श्रीमती गीता सोडारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता श्याम प्रसाद भण्डारीले विज्ञप्ति मार्फत जनाएका छन् ।

‘भारतबाट एउटै तहका दुई ओटा माध्यमिक शिक्षा उत्तीर्ण सरहका (कक्षा १०) शैक्षिक योग्यताका प्रमाणपत्रहरू नक्कली बनाई ल्याई आफ्नो योग्यता ढाँटी झुट्टा प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको ओहदा प्राप्त गरी आफूलाई फाइदा र नेपाल सरकारलाई हानि नोक्सानी पु¥याउने बदनियत राखी भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि हुन आएको, ’ विज्ञप्तिमा भनिएको छ ।

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षकको जागिर खाएको अभियोगमा आयोगले शुक्रबार गीताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । कैलालीको धनगढीस्थित शिव माविमा गीताले राहत शिक्षकका रूपमा काम गर्दै आएकी थिइन् ।