जनकपुरधाम, ६ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज दोस्रो दिन पनि जनकपुरधाममा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध विरोध प्रदर्शन गरेको छ ।

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति भण्डारीको विरोधमा जसपाका नेता कार्यकर्ताहरूले स्थानीय जनकचोकमा विरोध प्रदर्शन गरेका हुन् ।

जसपाका नगर अध्यक्ष विष्णुदेव साहले राष्ट्रपतिको असंवैधानिक कदमकाविरुद्ध आफूहरूले विरोध प्रदर्शन गरेको बताए । उनले राष्ट्रपति भण्डारीले संविधानलाई अवज्ञा गरेकाले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए ।

राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै मधेसवादी दलहरू बुधबारदेखि नै आन्दोलित भएका छन् । यसअघि बुधबार जसपाका नेता कार्यकर्ताहरूले जनकपुरधाममा राष्ट्रपति भण्डारीको पुत्लासमेत जलाएका थिए ।

प्रतिनिधिसभाले पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले दोस्रोपटकमा पनि प्रमाणीकरण नगरेपछि अहिले उनको व्यापक आलोचना भइरहेको छ ।