बारामा डेङ्गुका ४४ जना बिरामी फेला

बारा, ६ असोज । बारामा डेङ्गुका बिरामी बढ्न थालेपछि सर्वसाधारणमा त्रास छाएको छ । गत भदौ २८ गतेदेखि परीक्षण हुन थालेपछि अहिलेसम्म डेङ्गुका ४४ जना बिरामी फेला परेका हुन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख रामनरेशप्रसाद यादवका अनुसार कलैया अस्पतालमा ११ जना, जनस्वास्थ्य कार्यालयमा ९ र निजगढमा २४ जना डेङ्गुका बिरामी फेला परेको उनले बताए ।
केही उपचारपछि घर फर्केका छन् भने कतिपयको प्रदेशिक अस्पताल कलैयामा उपचार भइरहेको यादवले बताए ।
डेङ्गु परीक्षण गर्न कीटको अभाव भएको छ । कीट आपूर्तिका लागि सम्बन्धित निकायलाई जानकारी गराएको यादवले बताए । डेङ्गु अझै बढ्न सक्ने उनको भनाइ छ । बारामा डेङ्गुबाट अहिलेसम्म कोहीको पनि मृत्यु भएको छैन ।
डेङ्गुबाट बच्न घर वरपर सरसफाइ, पूरै शरीरभरि कपडा लगाउन, खाल्डाखुल्डीमा पानी जम्न नदिन र सावधानी अपनाउन प्रदेशिक अस्पताल कलैयाका डा.विकेश पाण्डेयले सुझाव दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


