जनकपुरधाम, ५ असोज । सञ्चार उद्यमी अरुण सिंघानिया हत्या मुद्दाको उच्च अदालत जनकपुरले जिल्ला अदालतको फैसला हुबहु सदर गरेको छ ।

गत भदौ २९ गतेदेखि उच्च अदालत जनकपुरमा सुरु भएको सुनुवाइमाथि बहस गर्दै बुधबार जिल्ला अदालतको फैसलालाई नै उच्चले हुबहु सदर गरेको हो ।

जिल्ला अदालत धनुषाको निर्णयको विरुद्धमा उच्च अदालतमा मुद्दाको सुनुवाइ गत बुधबारबाट सुरु भएको थियो ।

घटनाका मुख्य योजनाकार भनिएका पूर्वराज्यमन्त्री संजय साहले उच्च अदालतमा जिल्ला अदालतको फैसलाविरुद्ध मुद्दा गरेका थिए ।मुख्य योजनाकार साहलाई जिल्लाले गरेको जन्मकैदको फैसलालाई उच्च अदालतले सदर गरेको हो ।

न्यायधीशद्वय प्रमोद कुमार श्रेष्ठ र डालकुमार खडकाको संयुक्त इजलासले जिल्लाको फैसलालाई नै सदर हुने गरी आदेश दिएको उच्च अदालत जनकपुरका रजिष्टार खडगराज अधिकारीले जानकारी दिए ।

सो मुद्दामा नेपाल सरकारको तर्फबाट उच्च सरकारी वकिल कार्यालयका सह–न्यायधिवक्ता यदुनाथ शर्मा र शाखा अधिकृत राजलाल यादव तथा जाहेर बालाको तर्फबाट अधिवक्ता विपीनकुमार झा र हेमबहादुर कार्की बहस गरेका थिए ।

प्रतिवादी संजय साहको तर्फबाट बरिष्ठ अधिवक्ताहरु सुरेन्द्र महतो, श्यामकुमार मिश्र, धर्मेन्द्र शर्मा र अधिवक्ताहरु प्रकाश कुमार घिमिरे, ओम प्रकाश सिंह तथा दिपेन्द्र सिंहसहित ६ जनाले वकालत गरेका थिए ।

जनकपुर टुडेका सञ्चार उद्यमी अरुण सिंघानियाको २०६६ साल फागुन १७ गते होलीका दिन जनकपुरधामस्थित शिवचोकमा गोली दागेर हत्या गरिएको थियो । सो मुद्दामा २०७६ असार १७ गते जिल्ला अदालत धनुषाले आरोपी संजय साहसहितलाई जन्मकैदको फैसला सुनाएको थियो ।

साहले सोही फैसलामा असन्तुष्टी जनाउँदै ०७६ असोज ७ गते उच्च अदालत जनकपुरमा पुनरावेदन गरेका थिए । साह अहिले नख्खु कारागारमा कैद भुक्तानी गरिरहेका छन् ।

साहकै निर्देशनमा गोली हानेर सिंहानियाको हत्या गरेको बयान दिएका मनक लामालाई पनि जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।

यस्तै सिंघानिया हत्या आरोपमा पूर्वपक्षका लागि थुनामा रहेका एकलाल सहनी, पवन लामा र चनरदीप यादवलाई १० बर्षको कैद सुनाइएको थियो भने घटनामा संलग्न देखिएका रामविनोद यादवलाई ३ बर्ष कैद सजायको फैसला गरिएको थियो ।

ओमप्रकाश यादव, रामकरण यादव र अन्सी राइनलाई सफाइ दिइएको थियो भने मुकेश चौधरीलाई २० रुपैयाँ जरिवाना गरिएको थियो ।साह धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ बाट संविधान सभाको दुबै निर्वाचनमा विजयी भएका थिए ।

पहिलो पटकको चुनाव उनले मधेशी जनअधिकार फोरमबाट र दोस्रो चुनाव सदभावना पार्टीबाट जितेका थिए । पहिलो पटक उनी विजय गच्छदार मन्त्री रहेको भौतिक पूर्वाधार मन्त्रालयमा राज्यमन्त्री बनेका थिए । साह राज्यमन्त्री रहेकै बेला सिंघानियाको हत्या भएको थियो ।

साह दोस्रो पटक संविधान सभा सदस्य रहेकै बेला पक्राउ परेका थिए । धनुषाका तत्कालिन प्रहरी प्रमुख प्रहरी उपरीक्षक उत्तम सुवेदीले भारतको नयाँदिल्लीबाट उनलाई पक्राउ गरी ल्याएका थिए ।