जनकपुरधाम, ५ असोज । पूर्वराष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्रमा फेरि कालो बादल मडराएको बताएका छन् ।

जनकपुरधामस्थित सरस्वती माध्यमिक विद्यालयको भवनको पूनःनिर्माणको भूमिपुजनमा पुगेका पूर्वराष्ट्रपति यादवले दुई/दुई पटक सदनबाट पास भएको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण नभएपछि लोकतन्त्रमा कालो बादल मडराएको बताएका हुन् ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीको यस गैरजिम्मेवारपूर्ण कदमबाट देश फेरि प्रतिगमनतिर जान सक्ने भन्दै जनतालाई सचेत रहन आग्रहसमेत गरेका छन् ।

उनले संविधानलाई कसरी जोगाउने भन्ने जिम्मेवारी जनताकै काँधमा रहेको भन्दै संविधान जोगाउन सबै सचेत हुनुपर्ने बताए । संसद्बाट दुई पटक पारित भएर प्रमाणीकरणका लागि पठाइएको विधेयक पारित नगरेर राष्ट्रपतिले संविधानकै उल्लङ्घन गरेको यादवको जिकिर छ ।

उनले विभिन्न मुलुकका अभ्यास हेर्नुपर्ने, कानुनविद्, संविधानविद् तथा विद्वानहरूसँग छलफल गरेर अघि बढ्न सक्ने विकल्प हुँदाहुँदै पनि त्यसो नगरी संविधानमै नभएको बाटो राष्ट्रपतिले रोज्नु गलत भएको बताए ।

पूर्वराष्ट्रपति यादवले फेरि एक पटक संविधानको गम्भीर उल्लंघन भएकाले सबै नेपाली सजग नभए ढिलो हुने भन्दै भने, ‘सम्मानिय राष्ट्रपति ज्युले एक पटक विधेयक फिर्ता गर्न सक्छन्, दोस्रो पटक उनले विभिन्न व्यक्तिसँग कानूनका जानकारसँग छलफल गरेर प्रमाणिकरण गर्नुपर्ने थियो तर उहाँले यसो गर्नु भएन् । यसले संविधानमा फेरि एक पटक कालो बादल मडराएको छ ।’