तमलोपाका नेता कार्यकर्ताहरूले जलाए राष्ट्रपतिको पुत्ला

जनकपुरधाम, ५ असोज । बृषेश चन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीले जनकपुरधाममा राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ ।
राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै तमलोपाका नेता कार्यकर्ताहरूले बुधवार स्थानीय जनकचोकमा उनको पुत्ला दहन गरेका हुन् ।
संविधानको धारा ६१ को (४) मा ‘संविधानको पालना र संरक्षण राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ’ भनी स्पष्ट रुपमा उल्लेख रहेपनि राष्ट्रपति भण्डारीले संविधानको धारा ११३ को (४) बमोजिमको बाध्यात्मक कार्य नगरी संविधानको घोर उल्लंघन गरेको भन्दै तमलोपाले उनको राजीनामा माग्दै पुत्लासमेत जलाएको छ ।
तमलोपाकी नेतृ विभा ठाकुरले भनिन, ‘संविधानको घोर उल्लंघन र आफ्नै देशको जनताबिरुद्ध षडयन्त्र गर्ने व्यक्ति कुनै पनि दृष्टिले राष्ट्रपति पदको निमित्त एक क्षणको लागि पनि योग्य हुन सक्दैन । त्यसैले हामीले राष्ट्रपति भण्डारीको तत्काल राजीनामाको माग गरेका हौं ।’

नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णयलाई लिएर दलहरु दुई ध्रुवमा बाँडिएका छन् ।
सत्तारुढ दल र मधेसवादी दलहरुले राष्ट्रपतिको विरोध गरेका छन् भने नेकपा एमाले, राप्रपा नेपाललगायतका दलहरु राष्ट्रपतिको पक्षमा देखिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


