एजेन्सी, ५ असोज । हलिउड अभिनेत्री एन्जेलिना जोली पाकिस्तानमा आएको विनाशकारी बाढीबाट प्रभावित मानिसहरूलाई सहयोग गर्न उक्त देशको भ्रमण सुरु गरेकी छन् ।

एक्सप्रेस ट्रिब्युनका अनुसार अभिनेत्री जोलीले बाढी प्रभावित मानिसहरूबाट उनीहरूको आवश्यकता र भविष्यमा त्यस्ता पीडा रोक्नको लागि आवश्यक पहलबारे प्रत्यक्ष रूपमा कुराकानी गर्ने छन् ।

‘विनाशकारी बाढीबाट प्रभावित समुदायहरूलाई सहयोग गर्न एन्जेलिना जोली पाकिस्तानको भ्रमणमा छिन् । देशभर भारी वर्षा र बाढीले ३३ मिलियन मानिसहरूलाई असर गरेको छ । देशको एक तिहाइ पानीमा डुबेको छ’, ट्रिब्युनको रिपोर्टमा भनिएको छ ।

बाढीका ५५१ बालबालिका र ३१८ महिलासहित मृत्यु हुनेको संख्या १ हजार ५ सय ५९ पुगेको अधिकारीहरूले जनाएका छन् । पानी कम हुन थालेपछि देशभर मलेरिया, डेंगु, ज्वरो, झाडापखाला, छालाको संक्रमणजस्ता भाइरल रोगका संक्रमण बढेका छन् ।