तमलोपाले माग्यो राष्ट्रपति भण्डारीको राजीनामा

जनकपुरधाम, ५ असोज । बृषेश चन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेको छ ।
संविधानको धारा ६१ को (४) मा ‘संविधानको पालना र संरक्षण राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ’ भनी स्पष्ट रुपमा उल्लेख रहेपनि राष्ट्रपति भण्डारीले संविधानको धारा ११३ को (४) बमोजिमको बाध्यात्मक कार्य नगरी संविधानको घोर उल्लंघन गरेको भन्दै तमलोपाले उनको राजीनामा मागेको हो ।
तमलोपा अध्यक्ष लालद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘संवैधानिक र श्रृंगारिक राष्ट्रपतिले आफूलाई राजतन्त्र जसरी सबै शक्तिको स्रोत देखाउने कोशिश गर्दै बीरेन्द्र शाहको बाटो पछ्याउन खोजिएको देखिन्छ । यो आफ्नै देशको जनता बिरुद्धको विभेदी मानसिकताले गरिएको षडयन्त्र हो । हामी राष्ट्रपति विद्या भण्डारीको संविधानको घोर उल्लंगनको यस कार्यको भर्त्सना गर्दछौं ।’
‘संविधानको धारा ११३ को (४) ले राष्ट्रपतिलाई १५ दिनभित्र पुनः पारित भएको विधेयक प्रमाणिकरण गर्नैपर्ने व्यवस्था गरेकमे र सो नगरिए स्वतः प्रमाणित हुने यस धाराको मनसाय हो, ’उनले भने, ‘यस अनुरुप नेपाल नागरिकता ऐन संशोधन विधेयक ऐन बनेको स्पष्ट रहेको हुँदा सोको घोषणा प्रतिनिधिसभाको सभामुखबाट सूचना टाँस गरी गरिनु पर्ने र नेपाल सरकारले त्यसको संपुष्टि गर्नुपर्ने आग्रह गर्दछौं ।’
‘संविधानको घोर उल्लंघन र आफ्नै देशको जनताबिरुद्ध षडयन्त्र गर्ने व्यक्ति कुनै पनि दृष्टिले राष्ट्रपति पदको निमित्त एक क्षणको लागि पनि योग्य हुन सक्दैन । त्यसैले हामी राष्ट्रपति भण्डारीको तत्काल राजीनामाको माग गर्दछौं’–विज्ञप्तीमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


