जनकपुरधाम, ३ असोज । लोकतान्त्रिक मधेशी फ्रन्टले संविधान दिवसलाई ‘कालो दिवसको’ रुपमा मनाएको छ ।

नेपालको संविधान २०७२ जारी भएको दिन (असोज ३) लाई संघीय सरकारले धुमधामका साथ मनाईरहेको बेला फ्रन्टले कालो दिनको रूपमा मनाएको हो ।

लोकतान्त्रिक मधेशी फ्रन्टले जनताको भावना अनुरुप संविधान संशोधन होस् भन्ने अभिप्रायले विरोध प्रदर्शन गरेको फ्रन्ट आवद्ध तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य उमेश मण्डलले जानकारी दिए ।

मधेश आन्दोलनको क्रममा र २०७२ असोज ३ गते जबर्जस्ती संविधान जारी गरिएपछि शासक समूहबाट मधेशी र थारुमाथि गरिएको बर्बर दमन नेपालको इतिहासको कालो पाना रहेको उनको भनाइ छ ।

उनले भने, ‘असोज तीन कालो दिन नै हो । यस अवसरमा हामी सम्पूर्ण शहिद र आन्दोलनकारीप्रति सम्मान व्यक्त गर्दछौं । बर्बर दमनको बिरोध गर्दछौं ।’

प्रदर्शनमा सहभागीहरूले नागरिकता विधेयक यथाशीघ्र प्रमाणीकरण गर्न मागसमेत गरेका थिए ।

लोकतान्त्रिक मधेशी फ्रन्टले कार्यपालिकाद्धारा प्रस्तुत र व्यवस्थापिकाद्धारा दुई–दुई पटक पारित नागरिकता विधेयक प्रमाणिकरणमा राष्ट्रपतिले अर्घेलो खडा गरिरहेको आरोप लगाएको छ ।