यू–२० एसियन कप छनोटमा नेपाल जितविहीन

एजेन्सी, ३ असोज । बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोटमा नेपाल जितविहीन बनेको छ । गएराति समूह चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशसँग ३–० ले पराजित भएपछि नेपाल जितविहीन बनेको हो ।
समूह ‘बी’ अन्तर्गतको खेलमा बंगलादेशलाई जित दिलाउन मोजिबोर जोनी, पियास नोभा र साजिद हसन निजुमले एक/एक गोल गरे ।शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा भएको खेलमा नेपाल ९ र बंगलादेश १० खेलाडीमा समेटिएका थिए ।
खेलको छैटौं मिनेटमा जोनीले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए । १० औं मिनेटमा नोभाले टोलीको अग्रता दोब्बर बनाए । २६ औं मिनेटमा नेपालका डिफेन्डर अजय चौधरीले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा समेटियो । बंगलादेशी खेलाडीलाई कुहिनाले हान्दै फउल गरेपछि उनले रातो कार्ड पाएका हुन् ।
३५ औं मिनेटमा नेपाल ९ तथा बंगलादेश १० खेलाडीमा समेटिए । कप्तान आयुष घलानले रातो कार्ड पाएपछि नेपाल ९ खेलाडीमा समेटियो । बंगलादेशका अजिजुल हक एनान्टोलाई अभद्र व्यवहार गरेपछि आयुषलाई रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए ।
अजिजुलले दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदान छाडेपछि बंगलादेश पनि १० खेलाडीमा समेटिएको थियो । उनले आयुषलाई जिस्काएका थिए । ५२ औं मिनेटमा निजुमले गोल गर्दै बंगलादेशलाई ३–० को जित दिलाए । यो हारसँगै नेपालले अंकविहीन रहँदै पुछारमा रहेर प्रतियोगिताको अन्त्य ग¥यो ।
यसअघि नेपाल भुटानसँग २–०, कतारसँग ३–१ र आयोजक बहराइनसँग ६–० ले पराजित भएको थियो । दोस्रो जित निकालेको बंगलादेशले चार खेलमा सात अंक जोड्यो । यसअघि बहराइनसँग गोलरहित बराबरी खेले बंगलादेशले भुटानलाई २–१ ले हराउँदा कतारसँग ३–० को पराजय बेहोरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


