काठमाडौं, ३ असोज । हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’ मार्फत अञ्जना बराइली डेब्यु गर्दै छिन् ।

मोडलिङ र म्युजिक भिडियोमा अभिनय गरेकी अञ्जना यो फिल्ममा अडिसनमार्फत छानिएकी हुन् । उनी फिल्ममा प्रतिष्ठाको भूमिकामा छन् । अञ्जनाले मदनकृष्ण श्रेष्ठकी छोरीको भूमिका निर्वाह गरेकी हुन् । उनले अडिसनमा देखाएको अभिनयले नै ‘सेलेक्ट’ गरिएको कलाकारसँगै कार्यकारी निर्माता रहेका रवीन्द्रसिंह बानियाँले बताए ।

राम्रो फिल्मको खोजीमा रहेकी अञ्जना पनि यो टिमसँग जोडिएर आउन पाउँदा खुसी छिन् । ‘मैले केही फिल्ममा अडिसन पनि दिएकी थिएँ । एक फिल्ममा सेल्केट भएर केही समय प्रतीक्षा पनि गरेँ । तर त्यो फिल्म बनेन । पछि यसमा अडिसन दिएँ,’ उनले भनिन् । मह जोडी र प्रदीप भट्टराईको निर्देशनमा काम गर्न पाउँदा उनको सिकाइ पनि भएको छ । ‘म यहाँका लागि नौलो मान्छे । मलाई रवीन्द्र दाइ र प्रदीप दाइले राम्रोसँग गाइड गर्नुभयो । अभिनयलाई प्रस्तुत गर्ने शैली सिकाउनु भयो,’ उनले भनिन् ।

मह जोडीसँग स्क्रिन सेयर गर्न पाउँदा उत्साहित अञ्जनाले फिल्ममा मदनकृष्णको छोरीको भूमिका निर्वाह गरेकी छन् । ‘उहाँको छोरी बनेर काम गर्न पाउँदा ज्यादै खुसी छु । उहाँको माया र आशीर्वादलाई सिनमा समेत फिल्म गरेँ,’ उनले भनिन् ।

सामाजिक विषयवस्तुमा आधारित ड्रामामा मदनकृष्ण र हरिवंशसँगै गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, रवीन्द्रसिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, सिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेललगायतको अभिनय छ । फिल्ममा प्रदीप भट्टराईको लेख्नसँगै निर्देशन रहेको छ ।