आइसिसी विश्वकप लिग–२ : त्रिकोणात्मक एकदिवसीयमा नामिवियाले अमेरिकालाई हरायो

काठमाडौं, १ असोज । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नामिवियाले अमेरिकालाई हराएको छ । शनिबार भएको खेलमा अमेरिकालाई ६८ रनले हराएको हो ।
२५५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै १८६ रन मात्र बनाउन सक्यो ।
उसका लागि गजानन्द सिंहले सर्वाधिक ३२ रनको योगदान दिए । कप्तान मोनांक पटेलले ३०, सैतेजा रेड्डी मुक्कामल्लाले २९, अविजित रहेका क्यारोन स्टेभनसनले २८ र नस्तुष केन्जिगेले २८, जसकरण मल्होत्राले २२ तथा स्टेभन टेलरले १३ रन जोडे ।
नामिवियाका लागि बर्नार्ड स्कोल्ट्जले तीन, टांगोनी नुङ्गाम्यानले दुई तथा रुवेन ट्रम्पलम्यान र कप्तान गर्हार्ड इरास्मसले एक/एक विकेट लिए ।
त्यसअघि अमिनी पार्कमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिवियाले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै २५४ रन बनाएको थियो ।
उसका लागि गेर्हार्ड इरास्मस, लो ह्यान्डरी लोरेन्स र स्टेफन बार्डले अर्धशतकीय पारी खेले ।
८७ रन बनाएका इरास्मसले ७२ बलमा ९ चौका र एक छक्का प्रहार गरे । लोरेन्सले १०५ बलमा तीन चौकासहित ५७ रन बनाए । बार्डले ७० बलमा पाँच चौका र एक छक्कासहित ५३ रन जोड्दा जेजे स्मित २९ रनमा अविजित रहे ।
अमेरिकाका लागि शौरभ नेत्रावाल्करले तीन तथा क्यामरोन स्टेभनसन र स्टेभन टेलरले एक/एक हात पारे ।
हारका बाबजुत ३२ खेलमा २९ अंकका साथ अमेरिका तेस्रो स्थानमा रहँदा जित हात पारेको नामिविया २० खेलमा २२ अंक जोडेर पाँचौं स्थानमा छ ।
त्यस्तै, विश्वकप लिग–२ मा अहिलेसम्म २० म्याच खेल्दा आठ जित र ११ हार र एक बराबरीको नतिजा निकालेको नेपाल १७ अंकका साथ छैटौं स्थानमा छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


