यस्तो स्थिति फेरि दोहरिए अत्यन्त हानिकारक हुन्छ : नेता परमेश्वर महासेठ

जनकपुरधाम, १ असोज । नेपाली कांग्रेस धनुषाले गत भदौ २१ गते जिल्लाका चारवटै निर्वाचन क्षेत्रका लागि ११० जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गरिसकेको छ ।
जिल्लामा सबैभन्दा महत्वकासाथ देखिने र सबैको चासोको क्षेत्र हो, निर्वाचन क्षेत्र नम्बर–३ । नेपाली कांग्रेसले प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर–३ मा प्रत्यक्षतर्फ आफ्ना पार्टीका नेता परमेश्वर महासेठको नाम सिफारिस गरेको छ भने प्रतिनिधिसभाको समानुपातिकतर्फ पार्टीका पूर्वउपसभापति विमलेन्द्र निधिको नाम सिफारिस भएको छ ।
योसँगै प्रतिनिधिसभातर्फ धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा कांग्रेस नेता महासेठ उम्मेदवार बन्ने प्रायः निश्चित नै छ । नेपाली कांग्रेसले परमेश्वरलाई सो क्षेत्रमा उम्मेदवार बनाउने निर्णय गरेसँगै धेरैजना आश्चर्यमा परेका छन् ।
पछिल्लो समय सक्रिय राजनीतिमा नदेखिएका उनी प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवार बन्ने निश्चित भएसँगै उनले सबैको ध्यान आफूतर्फ आकर्षित गरेका छन् ।
उनले भने, ‘मलाई के लाग्छ भने संसद्को सशक्तीकरणका लागि मलाई प्रतिनिधिसभामा ल्याउन खोजिएको हो । संसद् प्रभावकारी भयो भने सरकार प्रभावकारी हुन्छ । संसद् बलियो भयो भने सरकार बलियो हुन्छ । संसद्को नियन्त्रण गर्ने क्षमता बढ्यो भने पूरा राज्य जवाफदेही हुन्छ।’
नेता महासेठले आफ्नो उम्मेदवारी निष्ठाको उम्मेदवारी रहेको बताए । उनले आफ्नो उम्मेदवारीलाई राजनीतिक सफाइ गर्नका लागि आएको रूपमा बुझ्न सबैसँग आग्रह गरेका छन् ।

‘पछिल्लो पटक धनुषा क्षेत्र नम्बर–३ का जनताको दैनिक जीवन र सरोकारका विषयको सम्बोधन गर्नेभन्दा पनि निर्वाचित जनप्रतिनिधि स्वार्थपरक मतभेद र अन्तरविरोधमा रुमलिरहेझैं देखिन्छन् । यस्तो स्थितिमा यहाँका जनता अब निराश हुन थालेका छन् । पछिल्लो ५ वर्षमा यहाँको राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक र शैक्षिक क्षेत्रमा कुनै सुधार भएको छैन्, ‘उनले भने, ‘नेपाली कांग्रेसले मुलुकको चौतर्फि समस्या समाधान गरिरहेको बेला राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिका तरंगहरु प्रतिकूल प्रकृतिका देखिदैछन् । यिनै समस्याहरुलाई समाधान गर्न यसपटक प्रत्यक्ष रुपमा निर्वाचन लड्न पार्टीले दिएको जिम्मेवारी हरसम्भव पूरा गर्ने कोशिस गर्नेछु ।’
उनले विगतदेखि नेपाली कांग्रेसले नै यस क्षेत्रको चौतर्फि विकास गरेको दाबीसमेत गरेका छन् । यस्तो स्थितिमा जनताले सोचेर निर्णय गर्ने समय फेरि आइसकेको उनको भनाइ छ । अहिलेको जस्तो स्थिति फेरि दोर्होयाए यस क्षेत्रको जनताका लागि अत्यन्त हानिकारक हुने भएकोले यसप्रति गम्भीर भएर सोच्नु आवश्यक रहेको नेता महासेठले बताए ।

उनले भने, ‘मैले देश, जनता र पार्टीको हितका लागि अवलम्बन गर्दै आएको विचारकै पक्षपोषण गरेको हुँ, तिनलाई परित्याग गरेको छैन वा कहीं समर्पण पनि गरेको छैन । कुनैपनि इमान्दार पार्टी अथवा नेताले त्यसो गर्नपनि सक्दैनन् । यही विचार र मान्यता अनुरुप नै उम्मेदवार बन्ने निर्णय गरेकोे छु ।’
उनले यहाँ अन्य दलको तुलनामा कांग्रेस मजबुत रहेको र कांग्रेस नेतृत्वकै पालामा यस क्षेत्रको समग्र विकास भएकोले जनताले यसपालि कांग्रेसमाथि नै विश्वास गर्ने दाबीसमेत गरेका छन् ।
मधेस प्रदेशको राजधानी जनकपुरधामबाट चुनाव जित्ने नेताको महत्व प्रदेशदेखि केन्द्रसम्म बढ्ने भएकाले यहाँको चुनाव नतिजाप्रति सबैको चासो रहेको देखिन्छ । जनकपुरधाम क्षेत्रको निर्वाचनका लागि विगतदेखि नै प्रमुख दलहरुले आफ्नो शक्ति अन्य क्षेत्रको तुलनामा बढी खर्चेको पाइन्छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


