जनकपुरधाम, ३१ भदौ । मधेस केन्द्रित दलहरूमा अहिले दलबदलको हुरी देखिएको छ । नेकपा एमाले, नेपाली काँग्रेस र अन्य दलहरूमा मधेश केन्द्रित दलका सांसद र प्रदेशसभा सदस्यहरू पार्टी गर्न प्रवेश सुरु गरिसकेका छन् ।

स्रोतका अनुसार पर्सा, बारा, रौतहट, धनुषा र महोत्तरीका धेरै नेताहरू अन्य पार्टीहरूमा प्रवेश गर्ने तरखरमा छन् । सत्ता र पैसामा पल्केका यिनी सबैले जीत र टिकटतिर मात्र ध्यान राखेका छन् र हिजोसम्म लगाउँदै आएका नाराहरू बिर्सेका छन् ।

विशेष सूत्रबाट प्राप्त जानकारी अनुसार यस्तै एउटा पार्टीका नेताहरू पार्टीको मधेस प्रदेशको अध्यक्षको नेतृत्वमा आफ्नो दलको शिर्ष नेताहरूलाई एमालेसँग जसरी भए पनि गठजोड गर्नका लागि दबाब दिन समूहमै काठमाण्डौ गएका छन् र त्यसको निमित्त लबिङ गरिरहेका छन् ।

एक जना शिर्ष नेताले यसो गर्न निर्देशन नै दिएको बताइएको छ । एमालेमा एकजना शिर्ष नेता शामिल भएर धनुषा–३ बाट उम्मेदवार हुन खोजेको र त्यसको निमित्त पार्टी प्रवेशको लागि समूह निर्माण गरिरहेको समेत हल्ला छ ।

यस सम्बन्धमा तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालसँग कुराकानी गर्दै यसो किन भएको हो ? किन यस्तो भुईंचालो आएको हो ? तपाईंहरूसँगै ‘चलू जनकपुर भरु जनकपुर’ नारा दिएर मधेस बिरोधी दलहरूलाई बहिष्कार गर्नेहरू आज किन यसरी मधेस आन्दोलन छोड्दैछन् ? भन्ने जिज्ञासा राख्दा लालले यसो हुनुको कारण अवसरवाद रहेको बताए ।

उनले भने, ‘मधेस आन्दोलन र यसका मुद्दाहरू जो देशकै निमित्त जरुरी छ, त्यसमा अवसरवादको प्रवेश हुनु हो । हामीले पनि यस्तो लाजै हुने हल्ला सुनेका छौं । अहिले तलदेखि माथिसम्म अवसरवादको महामारी लागेको छ । यसको निमित्त वास्तवमा तथाकथित शिर्ष नेताहरू नै जिम्मेदार छन् । तिनीहरु आफैं पनि मन्त्री र उपप्रधानमन्त्री बन्न जुन आपत्तिजनक क्रियाकलाप गरे त्यसको भायरस तलका नेता र कार्यकर्ताहरूमा परेको छ । विगतमा छनौट गर्ने अवसर आउँदा छनौट गर्दा कमअसल र नाता कुटुम्ब छानिए । कार्यकर्ता निराश भए । सांसद, समानुपातिकदेखि वडासम्मको टिकट बेच्ने चस्का लाग्यो । प्रदेश र पालिकाहरुमा मधेशको सरकार बने पनि केही फरक कतै देखिएन । भ्रष्टाचारको सीमा रहेन । यो यसैको परिणाम हो ।’

अध्यक्ष लालले मधेस आन्दोलनको मशाललाई जलाएर राख्नु पर्ने आवश्यकता रहेको बताए । मधेशीहरूसँग हुने दुर्व्यवहार र विभेदको निमित्त अहिले धेरै संघर्ष गर्न बाँकी रहेको उनको भनाइ छ ।

उनले भने, ‘जो भित्रैबाट प्रतिवद्ध थिएनन्, ती मुसाझैं जहाजबाट उफ्रिरहेका छन् । सचेष्ट जनता सबै हेरिरहेका छन् ।’