महोत्तरी, ३१ भदौ । दन्त चिकित्सक डा. सज्जन ठाकुरको विशेष पहलमा महोत्तरीको जलेश्वर नगरपालिकास्थित विभिन्न सार्वजनिक विद्यालयहरूमा अध्ययनरत सयौं छात्रछात्रालाई शैक्षिक सामग्री र खाद्यान्न सामग्री वितरण गरिएको छ ।

जलेश्वर नगरपालिका–१० सारी बस्ने युवा, समाजसेवी डा. ठाकुरको विशेष पहल तथा सफा सुनौलो नेपाल काठमाडौं र चाइना फाउन्डेसन फर पोभर्टी एलिभेसन नेपालको आर्थिक सहयोगमा जलेश्वर नगरपालिका–८ रतवारास्थित युग कवि सिद्धिचरण आधारभुत विद्यालयका १५१ जना र वडा नम्बर–५ पर्सापतैलीको श्री माध्यमिक विद्यालयमा ३५१ जना विद्यार्थीका अभिभावकलाई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो ।

प्रत्येक छात्रछात्राको अभिभावकलाई चामल, खाने तेल, दाललगायतका खाद्यान्न सामग्री हस्तान्तरण गरिएको डाक्टर ठाकुरले जानकारी दिए । विपन्न परिवारका छात्रछात्रालाई लक्षित गरेर यो सहयोग उपलब्ध गराइएको डाक्टर ठाकुरले बताए ।

रतवारामा पूर्वसांसद राम दयाल मण्डलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनार, सफा सुनौलो नेपालका केन्द्रिय प्रतिनीधि नुजा मानन्धर, सुरेश प्याकुरेल, चाइना फाउण्डेसनका प्रतिनिधि, वडाध्यक्ष विजय सिंह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत विद्यालयका शिक्षक, समाजसेवी सहितको उपस्थिति रहेको थियो ।

त्यस्तै, पर्सापतैलीको श्रीमाविमा आयोजित कार्यक्रममा संस्थाका पदाधिकारी, अभिभावक र विद्यालयका प्रधानाध्यापक रंजयकुमार राय सहितको उपस्थिति रहेको थियो ।

यसअघि जलेश्वर नगरपालिकाको वडा नम्बर–१० सारीस्थित अभिनन्दन आधारभुत विद्यालय र वडा नम्बर–४ सुगाको सुकदेव माविमा शैक्षिक सामग्री वितरण गरिएको थियो ।