काठमाडौं, ३१ भदौ । विभागीय टोली नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा स्वर्ण पदक जितेको छ ।

पुलिसले शुक्रबार भएको फाइनलमा त्रिभुवन अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले पराजित गर्दै स्वर्ण जितेको हो ।

१०४ रनको लक्ष्य पुलिसले ६.५ ओभरमा दुई विकेट गुमाएर भेट्टायो । उसका लागि कुशल भुर्तेलले १९ बलमा ३ चौका र ६ छक्काको मद्दतले ५१ रनको अर्धशतकीय पारी खेले ।

सुनिल धमलाले १७ बलमा दुई चौका र चार छक्काको मद्दतले अविजित ४२ रन बनाए । आर्मीका लागि जितेन्द्र मुखिया र सुशन भारीले समान एक/एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैलानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ८ ओभरमा ७ विकेट गुमाउँदै १०३ रन बनाएको थियो ।

वर्षाका कारण खेललाई ८ ओभरमा झारिएको थियो । उसका लागि कप्तान विनोद भण्डारीले १४ बलमा तीन चौका र चार छक्काको मद्दतले ४० रन बनाए ।

रोहितकुमार पौडेलले १० बलमा चार छक्काको मद्दतमा २८, कुशल मल्लले १३ तथा भीम सार्किले ११ रन जोडे ।

पुलिसका लागि ललित राजवंशी तथा गुल्सन झाले समान दुई/दुई तथा कप्तान दीपेन्द्रसिंह ऐरी र रशिद खानले समान एक/एक विकेट लिए ।