काठमाडौं, ३१ भदौ । बंगलादेश काठमाडौंमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ ।

बंगलादेश आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो सेमिफाइनलमा भुटानलाई ८–० ले हराउँदै दोस्रोपटक फाइनल पुगेको हो ।

यसअघि उसले २०१६ को फाइनल खेलेको थियो । खेलको दोस्रो मिनेटमै मोसाम्मत सोप्नाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिइन् । १८ औं मिनेटमा कप्तान सबिना खातुनले टोलीको अग्रता दोब्बर बनाइन् ।

३० औं मिनेटमा श्रिमोती सरकार तथा ३५ औं मिनेटमा ऋतु चक्माले गोल गरेपछि पहिलो हाफमै बंगलादेशले ४–० को आरामदायी अग्रता लिएको थियो । ५४ औं मिनेटमा सबिनाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गरिन् ।

५६ औं मिनेटमा मसुरा पर्विनले गोल गरेपछि बंगलादेश ६–० ले अघि बढ्यो । ८६ औं मिनेटमो तोहुरा खातुनले गोल गर्दै टोलीलाई ७–० को अग्रता दिलाइन् । थप गरिएको समयमा सबिनाले ह्याट्रिक पूरा गरेपछि बंगलादेशले ८–० को फराकिलो जित निकाल्यो ।

जारी प्रतियोगितामा सबिनाको यो दोस्रो ह्याट्रिक हो । यसअघि उनले पाकिस्तानविरूद्व ह्याट्रिक गरेकी थिइन् । बंगलादेश समूह ‘ए’ विजेता तथा भुटान समूह ‘बी’ विजेता बन्दै सेमिफाइनल पुगेका थिए ।

बंगलादेशले अब सोमबार उपाधिका लागि नेपाल र भारतबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको दोस्रो सेमिफाइनल साँझ साढे ५ बजे सुरू हुनेछ ।