डेंगु संक्रमितलाई औषधि उपचारको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग

काठमाडौं, ३१ भदौ । नेकपा माओवादी केन्द्रका सांसद मायाप्रसाद शर्माले डेंगु संक्रमितलाई औषधि उपचारको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।
शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद शर्माले डेंगुका संक्रमितको उपचार र महामारीको रूपमा फैलिएको यसको संक्रमण नियन्त्रणमा मिहिनेत गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
उनले दर्जनौं मानिसको ज्यान लिइसकेको डेंगु संक्रमण नियन्त्रणका लागि सरकारले पहल गर्न ढिलाइ गरिरहेको भन्दै आपत्तिसमेत जनाए ।
सांसद शर्माले भने, ‘डेंगु रोग एउटा भयावह स्थितिमा आएको छ । १२ हजारभन्दा बढी मान्छेहरुलाई प्रभावित बनाएको सूचना दर्जनौं मानिस दिवंगत भएको सूचना प्राप्त भएका छन् । र, यसको उपचारका लागि सरकारले पहल गर्ने कुरामा ढिलाइ किन गराएको छ ?
यसको सचेत पहल गरोस् । औषधि उपचारको बारेमा सबै पहलकदमी अगाडि बढाउन मिहिनेत गरोस् । र, नियन्त्रणमा लागि जोड गरोस् । मैले यो कुरा राख्न चाहन्छु ।’
सांसद शर्माले बाढी र पहिरोबाट आहत भएकाहरूलाई तत्काल राहतको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


