जनकपुरधाम, ३१ भदौ । धनुषाको हंसपुर नगरपालिकाका पूर्वमेयर रामज्ञान मण्डलले ४० लाख बराबरको सरकारी सामान अझै नगरपालिकालाई फिर्ता नगरेको बताइएको छ ।

नगरपालिकाका केही महत्वपूर्ण कागजातसहितका जिन्सी सामानहरु समेत उनले फिर्ता नगरेको बताइएको हो ।

मण्डललाई नगरपालिकाले सामान फिर्ता गर्न पत्र पठाएको कार्यकारी अधिकृत केशव कुमार अधिकारीले जानकारी दिए ।

आफू मेयर हुँदा नगरपालिकाबाट लिएको मोबाइल, ल्यापटप, म्याकबुक, प्रिन्टर र इन्भर्टरलगायतका सामानहरु नगरपालिकामा फिर्ता गर्न मण्डललाई पत्र पठाइएको अधिकारीले बताए ।

मेयर पदमा रहँदा मण्डलले लिएका विद्यालयहरुको दिवा खाजा सम्बन्धि कागजात र चेकबुक, अस्पताल, सडक ढालान, नाला निर्माणको फाइल सहित अन्य जिन्सी सामान तत्काल नगरपालिकामा बुझाउन पत्र पठाएको हो ।

मेयर मण्डलको जिम्मामा १० लाख बराबरको औषधिजन्य सामग्री, १० लाख बराबरको खेलकुद सामग्री, १५ लाख बराबरको कार्यालय सामग्री र ५ लाख बराबरको फर्निचर रहेको जनाइएको छ ।

मेयर पदबाट हटेपनि उक्त सामानहरु उनले नगरपालिकामा फिर्ता नगरेको कार्यकारी अधिकृत अधिकारीले बताए ।

यता पूर्वमेयर मण्डलले नगरपालिकाको कुनै सामाहरु आफ्नो जिम्मामा नरहेको र त्यस सम्बन्धी सबै कुरा कर्मचारीहरुलाई नै जानकारी भएको बताए । उनले आफ्नो जिम्मामा रहेका मोबाइललगायतका केही सामानहरु आफूले दोस्रो कार्यकालका लागि निर्वाचन लड्दा मनोनयन दर्ता गर्नुअघि र्न कार्यालयको जिम्मा लगाइसकेको दाबी गरे ।

उनले भने, ‘नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सूर्य प्रसाद दाहालले मैले गत बैशाख ९ गते दिएको स्वघोषणा पत्र बमोजिम कार्यालयका जिन्सी सामानहरु बरबुझारथ गरिसकेको तथा कार्यालयको अभिलेख तथा जिन्सी शाखाको राय र आर्थिक प्रशासनको राय बमोजिम आफ्नो जिम्मामा कार्यालयको कुनै किसिमको नगदी, जिन्सी, बेस्ता नरहेको पत्र नै आफूलाई दिएका थिए ।’