काठमाडौं, ३० भदौ । च्याम्पियन्स लिग अन्तर्गत बुधबार रातिको खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी विजयी भएको छ ।

ऊ घरेलु मैदान इतिहाद स्टेडियममा जर्मन क्लब बोरुसिया डर्टमण्डविरुद्ध २–१ ले विजयी भएको हो ।

निकै रोमाञ्चक बनेको समूह ‘जी’ अन्तर्गतको खेलमा सुरुवाती अग्रता भने पाहुना टोलीले लिएको थियो । खेलको ५६ औं मिनेटमा जुड वेलीङ्घमले डर्टमण्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।

८० औं मिनेटमा जोन स्टोन्सले गोल गर्दै सिटीलाई १–१ को बराबरीमा ल्याए । ८४ औं मिनेटमा एर्लिङ हालान्डले पूर्व क्लबविरुद्ध गोल गरेपछि घरेलु टोलीले २–१ को रोमाञ्चक जित निकाल्यो ।

जितसँगै दुई खेलमा ६ अंक जोडेको सिटी शीर्ष स्थानमा रहँदा परजित डर्टमण्ड समान खेलबाट तीन अंकका साथ दोस्रोमा छ । यही समूहको अर्को खेलमा स्पेनको सेभियाले डेनिस क्लब एफसी कोपेनहेगनसँग गोलरहित बराबरी खेल्यो ।