क्यानडामा मन्दिरको पर्खालमा भारतविरोधी नारा, भारतद्वारा निन्दा

एजेन्सी, ३० भदौ । क्यानडाको टोरन्टोस्थित बिएपिएस स्वामीनारायण मन्दिरको भित्तामा भारतविरोधी नारा लेखिएको घटना सार्वजनिक भएको छ । भारतले यसको निन्दा गर्दै क्यानाडाली अधिकारीसँग यस विषयमा छानबिन गर्न माग गरेको छ ।
टोरन्टोमा रहेको भारतीय उच्चायोगले यसबारे ट्वीट गर्दै भनेको छ, ‘टोरन्टोको बिएपिएस स्वामीनारायण मन्दिरको भित्तामा भारतविरोधी नारा लेखिएकोमा हामी कडा शब्दमा निन्दा गर्छौं । हामी क्यानाडाली अधिकारीहरूलाई यस विषयमा छानबिन गर्न र दोषीलाई कडा कारबाही गर्न माग गर्दछौँ ।’
यसबीच क्यानडाका सांसद चन्द्र आर्यले ट्विट गर्दै घटनाको निन्दा गरेका छन् । उनले भनेका छन्, ’क्यानडाली खालिस्तानी अतिवादीले टोरन्टो मन्दिरमा नारा लेखेको घटनाको सबैले निन्दा गर्नुपर्ने बताएका छन् । यो घटना मात्रै होइन । पछिल्लो समय केही समयदेखि हिन्दू मन्दिरहरूलाई घृणा अपराधका माध्यमबाट निशाना बनाइएको छ । यी घटनालाई लिएर क्यानडाका हिन्दूहरूको चिन्ता जायज छ ।’
क्यानडाका सांसद टिम एस उप्पलले पनि ट्विट गर्दै घटनाबाट आफू दुखी भएको बताएका छन् । उनले जनताले बिना डर र त्रास आ–आफ्नो धर्म मान्ने वातावरण बनाउनुपर्ने पनि उल्लेख गरेका छन् । उनले आफू छिट्टै आफ्ना साथीहरूलाई भेट्न मन्दिर जाने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


