लोसपा नेता उमाशंकर अरगरिया एमालेमा प्रवेश गर्दै

जनकपुरधाम, ३० भदौ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रमुख सचेतक उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्न लागेका छन् ।
२०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टीबाट निर्वाचन लडेका नेता अरगरिया धनुषा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
नेता अरगरियालाई एमालेमा प्रवेश गराउन पार्टी अध्यक्ष केपी शर्मा ओली आगामी असोज ८ गते धनुषा आउन लागेका हुन् । धनुषाको तीनकौरिया चोकमा एमालेले आयोजना गर्न लागेको पार्टी प्रवेश कार्यक्रममार्फत आफू एमाले प्रवेश गर्न लागेको अरगरियाले बताए ।
उनले भने, ‘लोसपाभित्रको भद्रगोल अवस्था देखेर पार्टी छाड्न लागेको छु । असोज ८ गते आयोजना हुने पार्टी प्रवेशमार्फत एमालेमा प्रवेश गर्नेछु ।’
नेता अरगरियाले अहिलेसम्म लोसपामा राजीनामा भने बुझाएका छैनन् । उनले असोज ३ गते पार्टी नेतृत्वसमक्ष राजीनामा बुझाउने जानकारी दिए ।
लोसपा नेपालले गत भदौ २२ गते धनुषा निर्वाचन क्षेत्र नम्बर–२ का लागि प्रतिनिधिसभातर्फ प्रत्यक्षमा उमाशंकर अरगरियाको एकल नाम सिफारिस गरेको थियो ।
निर्वाचन नजिकिएसँगै मधेस प्रदेशमा पार्टी परिवर्तनको होडबाजी नै चलेको छ । यसअघि भदौ २७ गते एमालेले जनकपुरधाममा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा जनता समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य एवं प्रदेशसभा सदस्यहरु एमालेमा प्रवेश गरेका थिए ।
त्यस्तै, नेपाली कांग्रेसको १४औं महाधिवेशनमा धनुषाको सभापतिमा पराजित सन्तोष यादव समेत एमालेमा प्रवेश गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


