नेपाल यू–२० एसियन कपमा छनोट हुने सम्भावना न्यून छ : प्रशिक्षक केसी

काठमाडौं, २९ भदौ । नेपाल यू–२० पुरुष राष्ट्रिय टोलीका प्रशिक्षक मेघराज केसीले एएएफसी एसियन कप छनोट हुने सम्भावना न्यून रहेको बताएका छन् ।
‘छनोट हुने सम्भावना न्यून छ । किनभने, हामीले दुई खेल हारिसकेका छौँ त्यसैले समूह विजेता र उत्कृष्ट उपविजेता दुवै बन्न हामीलाई गाह्रो छ,’ केसीले भने ।
पहिलो खेलमा नेपाल भुटानसँग २–१ ले पराजित हुँदा दोस्रो खेलमा कतारसँग ३–१ ले हारेको थियो । दुई खेल खेलेका बंगलादेश ४ अंकसहित शीर्षस्थानमा छ । एक खेल खेलेको कतार र दुई खेल खेलेको भुटानको समान तीन अंक छ । यस्तै, बहराइनको १ अंक रहँदा बिना अंक नेपाल पुछारमा छ ।
बहराइनविरुद्ध उत्कृष्ट खेल हेर्न पाउनेमा केसी आशावादी देखिए । यस्तै, केसीले अघिल्ला खेलपछि टिम पूर्ण तयारी नभएको बताए । ‘आज नेपाली टिमको शतप्रतिशत खेल हेर्न पाइन्छ । पहिलो खेलमा शारीरिक रूपमा पूर्ण तयार थिएनौँ । कतारको स्तर धेरै माथिको थियो । त्यसैले आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य छ,’ केसीले भने ।
आयुष घलानको कप्तानीमा रहेको नेपाली टिम विगत सात दिनयता बहराइनमा छ । प्रतियोगिताको अघिल्लो दिन मात्रै बहराइन पुगेको थियो । प्रशिक्षक केसीले बहराइनको वातावरणमा घुलमिल भएको र राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


