एजेन्सी, २९ भदौ । जोर्डनको राजधानी अम्मानमा एउटा चार तले आवासीय भवन भत्किँदा ५ जनाको मृत्यु भएको छ । घटनामा १४ जना घाइते भएका अधिकारीहरूले जनाएका छन् ।

भत्किएको भवनमा केही मानिस फसेका छन् । एक विज्ञप्तिमा सुरक्षा प्रवक्ता आमेर अल–सर्तावीले पाँच जनाको मृत्यु भएको बताए ।

नागरिक रक्षा सेवाका प्रवक्ताले भत्किएको भवनमा अझै धेरै मानिस फसेको दाबी गरे । तर, कति मानिस फसेका छन् भन्ने केही खुलाइएको छैन ।

प्रधानमन्त्री बिसेर अल–खासवनेहले भत्किएको भवनको निरीक्षण गरेका छन् । घटनाबारे अनुसन्धान गर्न प्रधानमन्त्रीले सहरका मेयरलाई निर्देशन दिएका प्राप्त विवरणमा जनाइएको छ ।