काठमाडौं, २८ भदौ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली सिनेमालाई हल नदिएको आरोप लगाएर आफ्नो बदनामी गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार नेपाली चलचित्र ‘सायरा’ निर्माण हुने जानकारी दिन काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।अध्यक्ष केसीले आफू र चलचित्र विकास बोर्डले नेपाली सिनेमालाई हल दिएन भनेर नकारात्मक हल्ला फैलाइ आफ्नो बदनामी गर्ने कोशिश भएको बताए ।

उनले चलचित्र विकास बोर्डले चलचित्र विकासका लागि काम गरिरहेको भन्दै आगामी दिनमा नेपाली चलचित्र क्षेत्रलाई उचाइमा पुर्याउने सुनाए । अध्यक्ष केसीले नेपाली सिनेमालाई नेपालमा नै सोचेजति साथ र सहयोग नमिलेको गुनासो गरे ।

कार्यक्रममा नेपाली चलचित्र सायरा निर्माण हुने बारेमा जानकारी गराइएको थियो । फिल्मको नाम सार्वजनिक गर्दै चलचित्रका कलाकारहरुको बारेमा कार्यक्रममा जानकारी गराइएको थियो ।

चलचित्र सायरामा आर्यन सिग्देल, कविता नेपाली लगायतका कलाकारहरुको अभिनय रहनेछ । चलचित्र बलिउडका विशाल देसाईले निर्देशन गर्ने छन् भने सोसल ड्रामा र लभ स्टोरीमा आधारित फिल्मको ९० प्रतिशत छायांकन अस्ट्रेलिया र १० प्रतिशत छायांकन नेपालमा हुनेछ ।