काठमाडौं, २८ भदौ । काठमाडौंमा जारी महिला साफ च्याम्पियनसिपको आफ्नो अन्तिम खेलमा पाकिस्तानले जित हात पारेको छ ।उसले मंगलबार माल्दिभ्सविरुद्ध ७–० को फराकिलो जित हात पारेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा समूह ‘ए’ अन्तर्गतको खेलमा पाकिस्तानलाई जित दिलाउन नादिया खानले चार तथा रामिन फारिद, खादिजा काज्मी र अनमुल हिराले समान एक गोल गरे ।

खेलको ३९ औं मिनेटमा रामिनको गोलमार्फत पाकिस्तानले अग्रता लिएको थियो । ४८ औं मिनेटमा खादिजाले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाइन् । ५३ औं मिनेटमा नादियाले पाकिस्तानका लागि तेस्रो गोल गरिन् ।

७८ औं र ८४ औं मिनेटमा नादियाले गोल गर्दै ह्याट्रिक पूरा गरेपछि टोली ५–० ले अगाडि बढ्यो । ९० औं मिनेटमा नादियाले नै व्यक्तिगत चौंथो तथा टोलीका लागि छैटौं गोल गरिन् । थप गरिएको समयमा अनमुलले गोल गरेपछि पाकिस्तान ७–० ले विजयी भयो ।

योसँगै चरणबाट बाहिरिइसकेको पाकिस्तानले जितका साथ प्रतियोगिताको अन्त्य गरेको छ । पाकिस्तानले अन्तर्राष्ट्रिय फुटबलमा आठ वर्षपछि जित निकालेको हो ।

योसँगै तीन खेलमा दुई हार र एक जितको नतिजा निकाल्दै पाकिस्तानले तीन अंक जोड्दा पराजित तीनै खेलमा पराजित माल्दिभ्स विनाअंक बाहिरिएको छ ।

यो समूहबाट साबिक विजेता भारत र बंगलादेशले सेमिफाइनलमा स्थान बनाएका छन् । यी दुईबीच आज साँझ साढे ५ बजे हुने खेलले समूह विजेताको टुङ्गो लगाउने छ ।