जनकपुरधाम, २७ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा आफ्नो पार्टी कसैसँग गठबन्धन नगर्ने बताएका छन् ।

नेकपा एमाले धनुषाले सोमबार जनकपुरधाममा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘एमालेले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कसैसँग गठबन्धन गर्दैन्, ‘उनले भने, ‘एमाले कसैको सहारामा चल्ने पार्टी होइन, हामी एक्लै गठबन्धनबिरुद्ध काफी छौं, हामीलाई कसैको सहारा चाहिंदैन ।’

लोकतान्त्रिक समाजवादी पार्टीतर्फ ईंगित गर्दै अध्यक्ष ओलीले चुनावी तालमेलको नाममा आगामी निर्वाचनमा कुनै कुनै दललाई सहारा भने दिनसकिने बताएका हुन् । लोकतन्त्रमा कुनै कुनै दललाई रेस्क्यु पनि गर्न सकिने उनको भनाई थियो । सत्तारुढ पाँचलदीय गठबन्धनबिरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका अध्यक्ष ओलीले एमालेसँग एक्लै भिड्नु गाह्रो रहेको दाबी गरे ।

उनले भने, ‘गठबन्धनका नेताहरुलाई मंसिर ४ पछिको परिणाम थाहा छ, त्यसैले शेरबहादुरजी र प्रचण्डजीको अनुहारमा अहिले मुस्कान छैन ।’

पार्टी प्रवेश गरेका नेता कार्यकर्ताहरुलाई धन्यवाद दिंदै उनले भने, ‘नेकपा एमाले तुलनै गर्न नसकिने अरु पार्टीभन्दा उतकृष्ट ढंगले माथि छ । यस पार्टीका विचारहरु सही छन् । यसको नीति सही छ । यसको गन्तव्य सही छ । यसको बाटो सही छ । यसले अपनाउने व्यवहारहरु सही छन् । यी सबै कुराहरु ठम्याएर यस पार्टीमा प्रवेश गर्नुभएकोमा तपाईंहरु सबैलाई धन्यवाद छ ।’

‘तपाईंहरु धेरै वर्षदेखि राजनीतिक शोषणमा पर्नुभयो, उनले भने, ‘आज तपाईंहरुले आफूलाई शोषणबाट मुक्त घोषणा गर्नुभएको छ ।’

नेकपा एमालेले कुनैपनि नेता कार्यकर्तालाई दुरुपयोग नगर्ने बताउँदै उनले देशको हित र सार्वभौमसत्ता तथा राष्ट्रको गौरवको पक्षमा मात्रै उनीहरुको प्रयोग गरिने बताए ।

मधेस प्रदेशमा ३२ वटै निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवाहरु विजयी हुने अध्यक्ष ओलीले दाबी गरे । उनले एमाले मधेशीहरुको पार्टी रहेको बताए ।

नागरिकताको सवालमा नेकपा एमालेभन्दा बढि अन्य कुनैपनि पार्टीले लडाई नलडेको उनको दाबी थियो । जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्ने माग एमालेको रहेको उले बताए । अध्यक्ष ओलीले २०५१ सालमा आफू गृहमन्त्री हुँदा नागरिकता आयोग बनाएर काम अगाडि बढाएको बताए ।

अध्यक्ष ओलीले नागरिकता विधेयकमा गठबन्धनले भ्रम फैलाएको बताए । ‘सरकार नागरिकता विधेयक प्रतिपक्षले पास गर्न दिएन भनेर विवाद झिकेर जनतामाझ भ्रम फैलाउँदै छ,’ ओलीले भने, ‘सरकारको नियत राम्रो छैन । चुनावको मुखमा भोटको राजनीति गर्न खोज्दै छ ।’

‘यो विधेयक फिर्ता लेऊ, जन्मसिद्ध नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता पाउनेछन् भनेर विधेयक संशोधन गरे तुरुन्त पास हुनेछ,’ओलीले भने ।

सरकारले नागरिकता विधेयक पास गर्न नचाहेको ओलीको आरोप छ । “सरकार नागरिकता विधेयक पास गर्न चाहँदैन,‘अध्यक्ष ओलीले भने, ‘पास नगर्ने, रोकेर राख्ने, तनाव बढाउने, राष्ट्रिय राजनीतिलाई तनाव र द्वन्द्वतर्फ लान खोज्ने र लोकतन्त्र तर्फ हैन, भिडन्ततर्फ लग्ने सोच देखिन्छ ।’

अध्यक्ष ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पुगेको नागरिकता विधेयक ‘काम’ नलाग्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै एमालेका केन्द्रीय सचिव रघुवीर महासेठले एक हातमा सिन्दुर र अर्को हाथमा नागरिकता दिन सम्भव नभएको बताए ।उनले नागरिकता विधेयकबारे विभिन्न भ्रम फैलाइएको जिकिरसमेत गरे ।

उनले नेपाली नागरिकले नागरिकता पाउनुपर्नेमा एमालेले सकारात्मक रहेको बताए । यद्यपि केही बुँदा संशोधन गर्नुपर्ने उनको भनाइ छ । उनले नेकपा एमाले नेतृत्वको सरकार नबने देश अन्धकारमा जाने दाबीसमेत गरेका छन् ।