कांग्रेस धनुषाका पूर्वउपसभापति यादवसहित सयौं नेता एमालेमा प्रवेश

जनकपुरधाम, २७ भदौ । विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमाले धनुषाले सोमबार जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा आयोजना गरेको बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरु एमाले प्रवेश गरेका हुन् ।
पार्टी परित्याग गर्नेहरुमा अधिकांश नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका नेता कार्यकर्ताहरु रहेका छन् ।

नेपाली कांग्रेस धनुषाका पूर्वउपसभापति सन्तोष यादव, नेतृ विजेता झा, प्रतिनिधिसभा सदस्य रुही नाज, प्रदेशसभा सदस्य अञ्जुकुमारी यादव, जसपाका केन्द्रीय सदस्य रामउदिन राम, शम्भु साह, पूर्व राज्यमन्त्री अरबिन्द साहलगायतकाहरु एमालेमा प्रवेश गरेका छन् ।
उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले माला तथा गम्छा लगाएर पार्टीमा स्वागत गरेका छन् ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नम्बर ४ को ‘ख’ बाट एमालेको तर्फबाट प्रदेशसभा सदस्यका लागि टिकट पाउने पक्कापक्की भएपछि सन्तोष यादव कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् । त्यस्तै, एमालेल नेतृ विजेता झालाई समानुपातिक सांसद बनाउने आश्वासन दिएपछि उनी पनि कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेकी छन् ।

पार्टी प्रवेशपश्चात् यादवले भने, ‘कांग्रेसले मलाई अवमूल्यन गरेकोले पार्टी परित्याग गरेको छु । कांग्रेसले गुटबन्दी गर्नेहरुको मात्रै मूल्याङ्कन गर्ने गरेको छ । एमाले मात्र मुलुकमा लोकप्रिय पार्टी रहेको यो पार्टी चयन गरेको छु ।’
यसैबिच, अध्यक्ष ओलीलाई जनकपुरधाममा २०५ किलोको माला लगाएर पार्टीका नेता कार्यकर्ताहरुले स्वागत गरेका छन् ।
पार्टीका केन्द्रीय सचिव रघुवीर महासेठ, पोलिटब्यूरो सदस्य जुलीकुमारी महतो, जिल्ला अध्यक्ष राजकिशोर यादव लगायतका नेताहरुले उनलाई २०५ किलोको माला लगाएर स्वागत गरेका हुन् ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


