काठमाडौं, २६ भदौ । नाबालिगमाथि बारम्बार बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालो सूचीमा राखेको छ । उनलाई नेपाल आउनासाथ पक्राउ गर्नका लागि कालो सूचीमा राखिएको हो ।

यसअघि १७ वर्षकी एक नाबालिगले सन्दीप लामिछानेले आफूलाई ५ भदौमा सिनामंगलको एक होटेलमा बारम्बार बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

उनले प्रहरीमा जाहेरी दिएसँगै प्रहरीले यस विषयमा छानबिन सुरु गरेको थियो । काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको प्रहरीले सबै नाकाहरुमा उनलाई पक्राउ गर्न परिपत्रसमेत गरेको छ । अदालतले बिहीबार नै सन्दीपविरुद्ध पक्राउ पुर्जी दिएको थियो ।

उनीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेपाल क्रिकेट एशोसिएसन (क्यान)ले उनलाई नेपाली क्रिकेट टिमको कप्तानबाट निलम्बनसमेत गरेको छ ।

विमानस्थलबाट नै नेपाल आउने सम्भावना बढी भएकाले उनलाई अध्यागमन विभागले कालोसूचीमा राखेर पक्राउ गर्ने तयारी गरेको हो ।
लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका थिए । त्यहाँबाट उनी आफू आरोपको सामना गर्ने भन्दै नेपाल फर्किने तयारीमा रहेको सामाजिक सन्जालमा एक स्टाटस लेखेका थिए ।

तर, उनी नेपाल कहिले आइपुग्छन् भन्ने ठेगान छैन । उनी स्वयं नेपाल नआएमा प्रहरीले उनलाई इन्टरपोलको सहयोगमा पक्रिएर नेपाल ल्याउने बताएको छ ।

प्रहरीले किशोरीले दिएको जाहेरीका आधारमा घटनाबारे सुक्ष्म अध्ययन गरिरहेको र प्रमाणहरु जुटाइरहेको जनाएको छ ।