जनकपुरधाम, २५ भदौ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी पाँच दलीय गठबन्धनबाट बाहिरिन सक्ने बताएका छन् ।

शनिबार जनकपुरधाममा पिछडावर्ग महासंघ (ओबिसी)को राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सत्तारुढ गठबन्धनमा जसपालाई सम्मानजनक स्थान नदिइए गठबन्धनबाट बाहिरिन सक्ने बताएका हुन् ।

काठमाडौँमा गठबन्धनबाट बाहिर गएर जसपा एक्लै चुनाव लड्ने चेतावनी दिएका यादवले जनकपुरधाममा फेरी सोही चेतावनी दोर्होयाएका छन् । उनले गठबन्धनको नाममा आफूहरु आत्मघाती कदम उठाउन बाध्य नरहेको बताए ।

यादवले भने, ‘जसपाले लोकतन्त्र र संविधानको रक्षाकालागी सडक आन्दोलन गर्यो । आज गठबन्धनमा जसपालाई नै कमजोर बनाउने षडयन्त्र हुँदैछ । तर जसपा कुनै पनि हालतमा आत्मघाती निर्णय गर्दैन ।’

मधेसको शक्तिको रुपमा रहेको जसपालाई कमजोर बुझ्ने भुल भईरहेको बताउँदै यादवले जसपालाई कमजोर बुझ्ने भूल कांग्रेस र कम्युनिष्टलाई नगर्न चेतावनी दिएका छन् ।

उनले मंसिर ४ गते हुन लागेको निर्वाचनमा गठबन्धनको नाउँमा कुनै पनि आत्मघाती कदम नउठाउनेसमेत बताएका छन् ।

यसअघि अध्यक्ष यादवले २०७२ साल भदौ २५ गते चलु जनकपुर भरु जनकपुर कार्यक्रम अन्तर्गत शहादत दिएका शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । शहीदहरु संजय चौधरी, दिलिप यादव र नितु यादवको स्मृतिमा जनकपुरधाम उपमहानगरले निर्माण गरेको शहीद गेट पुगेर अध्यक्ष यादवले शहीदरुको प्रतिमामा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।