काठमाडौं, २५ भदौ । आज विश्व आत्महत्या रोकथाम दिवस ‘आशा जगाऔँ जीवन बचाऔँ’ भन्ने नाराका साथ मनाइएको छ ।

सन् २००३ मा आत्महत्या रोकथामका लागि अन्तर्राष्ट्रिय संघले विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को संयोजनमा विश्व आत्महत्या रोकथाम दिवसको स्थापना गरेको थियो ।

सो वर्षदेखि १० सेप्टेम्बरमा यो दिवस मनाइने गरेको छ । आत्महत्या निरुत्साहित गर्नका लागि जनचेतना जगाउने अवसरको रुपमा नेपालमा पनि यो दिवस मनाउने गरिएको छ ।

डब्लुएचओको तथ्यांक अनुसार विश्वभर प्रत्यके वर्ष ७ लाख बढीले आत्महत्या गर्छन् । यो तथ्यांक अनुसार एक दिनमा करिब १९१८ जनाले आत्महत्या गरिरहेका हुन्छ् ।

एक घण्टामा ८० जनाले आत्महत्या गर्ने गरेको तथ्यांकले देखाउँछ । हरेक ४५ सेकेण्डमा विश्वका कुनै ठाउँमा आत्महत्याबाट एक जनाको ज्यान गइरहेको हुन्छ ।

२० देखि २५ जनाले आत्महत्याको प्रयास गर्दा १ जनाले आत्महत्या गर्ने गरेको तथ्यांकले देखाउँछ । विश्वमा हुने मृत्युहरुको कारण मध्ये १५ औँ नम्बरमा आत्महत्या रहेको छ । १५ देखि १९ वर्ष उमेर समूहमा हुने मृत्युमा भने चौथो कारण आत्महत्या रहेको तथ्यांकले देखाउँछ ।

आत्महत्या गर्नेमा महिला भन्दा पुरुषको संख्या धेरै छ । विश्वमा प्रति लाख ९ जनाको आत्महत्याका कारण मृत्यु हुन्छ । यसमा महिला प्रतिलाखमा ५.४ रहँदा पुरुष १२.६ छ ।

नेपाल प्रहरीले दिएको रेकर्ड अनुसार नेपालमा १० वर्षको अवधिमा ५३ हजारले आत्महत्याका कारण ज्यान गुमाएका छन् । पछिल्लो आर्थिक वर्ष ०७८/०७९मा ६ हजार ८३० जनाले आत्महत्या गरेको तथ्यांक छ ।

आर्थिक वर्ष ०७७/०७८ मा आत्महत्याको संख्या ७ हजार १४१ । अघिल्लो वर्षको तुलनामा आत्महत्याबाट ज्यान गुमाउनेको संख्या ४.५ प्रतिशतले घटेको देखिन्छ । यो संख्या अनुसार पनि नेपालमा हरेक दिन १९–२० जनाले आत्महत्याबाट ज्यान गुमाइरहेका छन् ।

अहिले नेपालमा आत्महत्याको दर प्रतिलाख जनसंख्यामा २३.४ छ । नेपाल सरकारले लिएको दिगो विकासको लक्ष्यमा सन् २०१५ देखि २०३० सम्ममा प्रति एकलाख जनसङ्ख्यामा आत्महत्याको दरलाई ४.७ मा ल्याउने लक्ष्य राखिएको छ ।

आत्महत्याको मुख्य कारण मानसिक स्वास्थ्य मानिएको छ । मानिसक स्वास्थ्य उपचारमा पहुँच बढाउनका लागि काम भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इन.सी.डी तथा मानसिक स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

अहिले ४४ जिल्लामा सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रम पु¥याइएको छ भने आगामी २ वर्षमा सबै जिल्लामा यो कार्यक्रम पु¥याउने लक्ष्य राखिएको विभागले जानकारी दिएको छ ।

प्रत्येक प्रदेशको २–२ जिल्लामा मनोचिकित्सकको सेवा पु¥याउने, औषधिहरु निशुल्क गर्ने, विद्यालय नर्समाफर्त पनि यस कार्यक्रमलाई विस्तार गर्न लक्ष्य सरकारको छ ।