काठमाडौं, २५ भदौ । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपमा बंगलादेशले लगातार दोस्रो जित दर्ता गरेको छ ।

उसले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा समूह ‘ए’ अन्तर्गत शनिबार सम्पन्न खेलमा पाकिस्तानलाई ६–० ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो ।

बंगलादेशलाई फराकिलो जित दिलाउन कप्तान सविना खातुनले ह्याट्रिक पूरा गर्दा मोनिका चक्मा, मोसामद सोप्ना र ऋतु चम्माले समान १ गोल गरे ।

खेलको तेस्रो मिनेटमै मोनिकाले टोलीलाई अग्रता दिलाएकी थिइन् । २८औं मिनेटमा मोसामदले बंगलादेशको अग्रतालाई दोब्बर पारिन् ।
३१ र ३५औं मिनेटमा सविनाले गोल गर्दा टोलीले पहिलो हाफमै ४–० को आरामदायी अग्रता लिएको थियो ।

५८ औं मिनेटमा सबिनाले ह्याट्रिक पूरा गरेपछि बंगलादेश ५–० ले अघि बढ्यो । ७६ औं मिनेटमा ऋतुले गोल गर्दै टोलीलाई ६–० को फराकिलो जित दिलाइन् ।

यो जितसँगै दुई खेलमा ६ अंक जोडेको बंगालदेशले सेमिफाइनल सम्भावनालई बलियो बनाउँदा लगातार दोस्रो हार बेहोर्दै अंकविहीन पाकिस्तानीको भने सम्भवना न्यून बनेको छ ।

पहिलो खेलमा बंगलादेशले मल्दिभ्सलाई ३–० ले हराउँदा पाकिस्तानले भारतसँग ३–० कै हार बेहोरेको थियो ।