जनकपुरधाम, २५ भदौ । नेपाली कांग्रेस धनुषाका पूर्वउपसभापति संतोष यादवसहित सयौं नेता कार्यकर्ताहरु नेकपा एमाले प्रवेश गर्न लागेका छन् ।

भदौ २७ गते सोमबार संतोषसहितका नेताहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले जनकपुरधाममा आयोजना हुन लागेको बृहत पार्टी प्रवेश कार्यक्रममा एमालेमा भित्राउन लागेका हुन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नम्बर ४ को ‘ख’ बाट एमालेकोतर्फबाट प्रदेशसभा सदस्यका लागि टिकट पाउने पक्कापक्की भएपछि उनले कांग्रेस परित्याग गर्न लागेको स्रोतले जनाएको छ ।

यादव पार्टी प्रवेशअघि नै नेकपा एमालेले आयोजना गरेको विभिन्न कार्यक्रमहरुमा सहभागीसमेत हुन थालेका छन् । शुक्रबार एमालेका सचिव रघुवीर महासेठ, पोलिटब्यूरो सदस्य जुलीकुमारी महतो, जिल्ला अध्यक्ष राजकिशोर यादव, शिवशंकर साह हिरालगायतका नेताहरु सहभागी कार्यक्रममा संतोष यादव पनि उनीहरुसँगै देखिएका थिए ।

कांग्रेसले प्रदेशसभामा धनुषा निर्वाचन क्षेत्र नम्बर–४ को (ख) का लागि प्रत्यक्षतर्फ आफ्नो नाम सिफारिस नगरि जिल्ला कोषाध्यक्ष राजलाल महतो र रामकुमार भण्डारीको नाम सिफारिस गरेपछि यादव असन्तुष्ट बनेका छन् ।

यादवले नेपाली कांग्रेसप्रति असन्तुष्टि जनाएका छन् । उनले कार्यकर्ताहरुका लागि कांग्रेस उपयुक्त पार्टी नभएकोले परित्याग गर्न लागेको बताए । सोमबार उक्त क्षेत्र नम्बर–४ का करिब ५ हजार नेता कार्यकर्ता कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गर्ने उनले दाबी गरेका छन् ।

यादव नेपाली कांग्रेसको १४औं अधिवेशनमा शेरबहादुर देउवा समूहबाट धनुषा जिल्लाको सभापति पदका उम्मेदवार थिए । उनलाई कांग्रेस नेता विमलेन्द्र निधिनिकट योगेन्द्र पजियारले दोस्रो राउण्डमा पराजित गरेका थिए ।

२०७८ फागुन २८ गते भएको दोस्रो चरणको मतदानमा संस्थापन पक्षका उम्मेदवार यादवलाई ६८९ मतान्तरले पराजित गर्दै पजियार जिल्ला सभापति चुनिएका थिए ।

दोस्रो चरणको मतदानमा २ हजार ८१४ मत खसेको थियो । योगेन्द्रले १ हजार ७३५ मत पाएका थिए भने संतोषले १ हजार ४६ मत पाए ।

त्यसअघि संतोष यादव नेपाली कांग्रेस धनुषाको सचिव हुँदै उपसभापतिसम्म पुगेका थिए ।