बाँके, २४ भदौ । बाँकेमा पछिल्लो समय डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या बढदै गएको छ । अहिलेसम्म जिल्लाका विभिन्न पालिकामा गरी ११ जनामा डेङ्गु सङ्क्रमण फैलिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमका अनुसार ११ मध्ये ८ जना जिल्लाभित्रका छन् । बुधबारमात्र डेङ्गुबाट नेपालगञ्जमा दुई जनाको मृत्यु भएको थियो ।

सङ्क्रमितमध्ये सबैभन्दा बढी नेपालगञ्ज उपमहानगरपालिकाका ५, कोहलपुर नगरपालिकाका २ र बैजनाथ गाउँपालिकाका एक जना छन् । अन्य ३ जना बुटवल र काठमाडौँ आवतजावत गर्दा सङ्क्रमित भएका पाइएको छ ।

यस्तै भेरी अस्पताल नेपालगञ्जमा पनि डेङ्गु र भाइरल ज्वरोका बिरामीको चाप ह्वात्तै बढेको छ । अस्पतालका सूचना अधिकारी डा सङ्केतकुमार रिसालले डेङ्गु र भाइरल ज्वरोका बिरामी बढ्दै गएको उल्लेख गर्दै दमका रोगीसमेत बढेको बताए ।

त्यस्तै नेपालगञ्ज उपमहानगरपालिकामा डेङ्गु सङ्क्रमित भेटिएपछि लामखुट्टेका लार्भा र फुल नष्ट गर्न थालिएको छ ।