कांग्रेसले प्रत्यक्षतर्फ १०० सिट नपाए पार्टीभित्रै विद्रोह हुन्छ : नेता कोइराला

जनकपुरधाम, २३ भदौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनभित्र पार्टीले प्रत्यक्षतर्फ १०० सिट नपाए विद्रोह हुन सक्ने चेतावनी दिएका छन् ।
बिहीबार जनकपुरधाममा नेपाल प्रेस युनियनद्वारा १०९ औं विपी जयन्तीको अवसरमा आयोजित विपी विचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अबका चुनौति विषयक विचार गोष्ठीमा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।
उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धनभित्र प्रत्यक्षतर्फ १०० सिट पाउनुपर्ने जिकिर गरेका छन् ।
नेता कोइरालाले पाँच दलिय गठबन्धन बिचित्रको रहेको टिप्पणीसमेत गरेका छन् । उनले कांग्रेसले विचार र सिद्धान्त नमिल्ने दलहरुसँग गठबन्धन गरेको बताए ।
एमालेले संविधानलाई प्रहार गरेपछि त्यसलाई बचाउन गठबन्धन गरिएको भन्दै उनले भने, ‘अब यो गठबन्धन पवित्र हो कि अपवित्र त्यो निर्वाचन पछि मात्र थाहा हुन्छ ।’
कांग्रेसमा उम्मेदवारका आकांक्षी नेताको व्यवस्थापन गर्न १०० सिट चाहिने र त्यति संख्यामा सिट नपाए पार्टीभित्र विद्रोह हुन सक्ने नेता कोइरालाको जिकिर छ ।
तालमेल गर्दा धेरै सिट छोड्नुपर्ने र त्यसरी सिट छोड्दा समानुपातिक निर्वाचन पद्धतितर्फको मत पनि घट्ने भन्दै नेता कोइरालाले त्यसै कारणले विद्रोह हुन सक्ने बताएका हुन् ।
गठबन्धनको कारणले अहिले नेपाली कांग्रेस अप्ठेरो अवस्थामा रहेको कोइरालाले बताए
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


