काठमाडौं, २२ भदौ । नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने काठमाडौं सिनामंगलमा रहेको एक होटलमा ७ घण्टा रातिको समयमा बसेको पुष्टि भएको छ ।

प्रहरीले उनीविरुद्ध उजुरी परेपछि प्रमाणहरु जुटाउने क्रममा होटलको सिसिटिभी फुटेज हेरेर यो प्रमाण जुटाएको हो ।

मंगलबार प्रहरी वृत्त गौशालामा लामिछानेविरुद्ध उजुरी परेको थियो । प्रहरी वृत्त गौशालाका डिएसपी सन्जीव खड्काले फरकधारलाई दिएको जानकारीअनुसार किटानी उजुरी परेपछि प्रहरीले प्रमाणहरु जुटाउन सुरु गरेको हो ।

किटानी जाहेरीमा युवतीले उल्लेख गरेजस्तै ५ भदौमा लामिछाने र ती युवती होटलको कोठामा पसेको देखिन्छ । उनीहरु राति ११ः५५ मा होटलमा प्रवेश गरेको देखिन्छ । उजुरीमा युवतीले आफूहरु पहिले भक्तपुरको नगरकोट पुगेर फर्किएको र होस्टल बन्द भइसकेकाले सन्दीपले लजमा बस्ने प्रस्ताव गरेको आफूले स्वीकार गरेको उल्लेख गरेकी छिन् ।

प्रहरीका अनुसार उनीहरु कोठा नम्बर ३०५ मा बसेका थिए ।

सिसिटिभीमा देखिएअनुसार सन्दीप लामिछाने सेतो क्याप, सेतो जुत्ता र निलो रंगको टिसर्टमा होटलमा पुगेका थिए । ती किशोरीले सेता विनसिटर र पहेँलो टिसर्ट लगाएको सिसिटिभीमा देखिएको प्रहरीले जनाएको छ ।

उनीहरुले त्यहाँ सात घन्टा बसेर ६ भदौको बिहान पौने सात बजे होटलबाट निस्किएको सिसिटिभी फुटेजमा देखिएको छ ।

त्यही रात आफूहरुले मदिरा सेवन गरेको र मध्यरातिपछि सन्दीप लामिछानेले आफूमाथि बारम्बार बलात्कार गरेको आरोप युवतीले लगाएकी छिन् । उजुरी परेसँगै मंगलबार नै प्रहरीले ती किशोरीको मेडिकल परीक्षणसमेत गरेको छ ।