काठमाडौं, २१ भदौ । जिल्ला प्रहरी परिसर काठमाडौंले कमेडियन अपूर्वक्षितिज सिंहको अनुसन्धान सकेर प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

परिसरले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाउने तयारी गरेको हो ।

परिसर प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले यसको अनुसन्धान सकिएको बताए । नेवा समुदायमाथि लक्षित गर्दै स्ट्यान्ड अप कमेडी गरेको भिडिओ सार्वजनिक भएपछि अभियन्ताहरूले अपूर्वविरूद्ध परिसरमा जाहेरी दिएका थिए ।

अभियन्ताहरूले उनीविरूद्ध चार वटा शीर्षकमा जाहेरी दिएका थिए । जाहेरी दिएपछि उनी भदौ १२ गते पक्राउ परेका थिए । परिसरले सुरूमा उनीविरूद्ध एउटा शीर्षकमा म्याद थप गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्रहरीले सुरूमा उनीमाथि मुलुकी अपराध संहिता, २०७४ परिच्छेद–१० भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुरको दफा १६५ अनुसार अनुसन्धान गरिरहेको थियो । यो दफामा सामाजिक रीति स्थितिमा खलल पार्न नहुने व्यवस्था छ ।

यसैगरी दफा ६५ सार्वजनिक शान्ति खलल पार्न नहुने, दफा १६६ जातिपातिको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्व व्यवहार गर्न नहुने र दफा १६८ अपमानजनक वा अमावनीय व्यवहार गर्न नहुने कसुरमा जाहेरी दिएका थिए ।

कमेडियन अपूर्वले नेवा समुदायको भाषा, खाना, संस्कृतिमाथि व्यंग्य गरेको आरोप छ । उनले यसरी व्यंग्य गर्दा नेवा समुदायका केही व्यक्तिहरूले आपत्ति जनाएपछि उनले माफी समेत मागेका थिए ।

उनले आफ्नो फेसबुकमार्फत माफी मागेका थिए । तर पनि उनलाई कारबाही हुनुपर्ने माग गर्दै अभियन्ताहरूले उनीविरूद्ध जाहेरी दिएका थिए ।

कमेडियन सिंहले कुनै समय गरेको स्ट्यान्डअपको भिडिओ भदौ १० गते कमेडी क्याफे नामको युट्युब च्यानलमा हालिएको थियो । उक्त भिडिओमा उनले ‘नेवारको परम्परा’ शीर्षकमा व्यंग्य गरेका थिए ।