काठमाडौं, २१ भदौ । नेपाली चलचित्र ऐना झ्यालको पुतलीले सकारात्मक प्रतिक्रिया पाएको छ ।

काठमाडौं भएको प्रिमियर ‘शो’मा दर्शक बनेर पुगेका कलाकार, साहित्यकार र राजनीतिज्ञले चलचित्र धेरै राम्रो रहेको प्रतिक्रिया दिए । उनीहरूले चलचित्रले आफ्नो बाल्यकालको परिवेशलाई सम्झाउने बताए ।

चलचित्र हेर्नका नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहित कलाकारहरू दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा, केकी अधिकारी, प्रकाश सपुतलगायतको उपस्थिति थियो ।

चलचित्र हेरिसकेपछि अभिनेता दीपकराज गिरीले सानो बेलामा आफ्नो परिवेशलाई स्मरण गर्न बाध्य बनाउने चलचित्र रहेको बताए । उनले कथावस्तु सानो लाग्ने तर फिल्मको सन्देश भने व्यापक रहेको बताए ।

त्यस्तै अभिनेत्री दीपाश्री निरौलाले चलचित्रका पात्रलाई दर्शकले आफैँ हुँ जस्तो बनाउने गरी चलचित्र प्रस्तुत गर्नु उत्कृष्ट रहेको बताए ।त्यस्तै, कलाकार निर्मल शर्माले चलचित्रले आफ्नो मलाई सानो बेलामा पु¥याएको भन्दै चलचित्रको प्रशंसा गरे ।

त्यस्तै, गायिका आनी छोइङ डोल्माले फिल्म असाध्यै सुन्दर रहेको प्रतिक्रिया दिइन् । उनले नेपाली सामाजिक इतिहासको दस्ताबेजका रूपमा फिल्मलाई चित्रण गरिन् । उनले चलचित्रमा नारीले जीवनमा गर्नुपरेका सम्झौतालाई यथार्थ वर्णन गरिएको बताइन् ।

त्यस्तै, अभिनेता एवं गायक प्रकाश सपुतले बाल्यकालको जीवनमा आफूले भोगेको यथार्थता चलचित्रमा झल्किएको बताए । आफूले चलचित्रमा हरेक भाग आफूले भोगेको रहेको भन्दै एकपटक हेर्नै पर्ने चलचित्र रहेको बताए ।

त्यस्तै, अभिनेत्री केकी अधिकारीले फिल्म रहर सपनाको कथा भएको बताइन् । उनले सामाजिक परिबन्धका कारण छोड्नुपरेका सपना फिल्ममा रहेको र अभिनय जीवन्त लाग्ने बताइन् । उनले यस्ता चलचित्र हेर्नै पर्ने किसिमको रहेको बताइन् ।

त्यस्तै, अभिनेत्री शिरु बिष्टले बाल कलाकारलाई राखेर काम गर्दा धेरै मिहिनेत गरेर काम गरेको बताइन् । उनले बाल कलाकारको अभिनयका कारण आफ्नो अभिनय पनि उचाइमा पुगेको बताइन् ।

सुजित बिडारीको लेखन एवं निर्देशन रहेको फिल्ममा कञ्चन चिमरिया, शिरु बिष्ट, दिनेश खत्री, अशोक शिवाकोटी, क्षितिज लिम्बू, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ, विशा चाम्लिङ राई, राज थापा, पदमप्रसाद पौडेललगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्र आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ ।

सिनेमालाई आकाश पौडेल, प्रविण स्याङ्बो, रामकृष्ण पोखरेल र सुजित बिडारी स्वयं मिलेर निर्माण गरेका हुन् । संखुवासभामा त्यहीँकै स्थानीय कलाकारलाई लिएर बनाइएको फिल्मले उच्च शिक्षा लिन चाहने किशोरी सपनालाई शिशाको झ्यालमा अड्किएको पुतलीको विम्व सादृश्य वर्णन गरेको छ ।