एजेन्सी, २१ भदौ । भारतीय क्रिकेट टोलीका पूर्वअलराउन्डर सुरेश रैनाले सबैखाले क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

रैनाले मंगलबार सामाजिक सञ्जालमार्फत सबैखाले क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका हुन् ।

रैनाले यस अवधिमा सहयोग गर्ने सम्पूर्णमा धन्यवादसमेत व्यक्त गरेका छन् । उनले सन् २०२० मै अन्तर्राष्ट्रिय क्रिकेटबाट भने संन्यासको लिइसकेका थिए ।

रैनाले पछिल्लो पटक सन् २०२१ मा चेन्नई सुपर किङ्ग्सबाट इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेका थिए ।

उनले भारतका लागि १८ टेस्ट, २२६ एकदिवसीय र ७८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

उनले तीनवटै प्रारूपमा ४८ अर्धशतक र ७ शतकसहित ७ हजार ९८७ रन बनाउनुका साथै ८२ विकेट लिए ।

उनले २०५ आइपिएल खेलमा ३९ अर्धशतक र १ शतकसहित ५ हजार ५२८ रन बनाउँदा २५ विकेट लिएका छन् ।