सुर्खेत, २१ भदौ । कर्णाली प्रदेशले नवौं राष्ट्रिय खेलकुदका लागि क्रिकेट टिमको घोषणा गरेको छ ।

कर्णाली प्रदेशले मंगलबार रवीन्द्र जंग शाहीको कप्तानीमा १४ सदस्सीय टोली घोषणा गरेको हो ।

नवौं राष्ट्रिय खेलकुद २८ असोजदेखि ३ कात्तिकसम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ । पुरुष क्रिकेट भने २३ भदौबाट सञ्चालन हुँदैछ ।

क्रिकेटको अन्तर्राष्ट्रिय तालिकासँग नबाझिने गरी आयोजनाका लागि नेपाल क्रिकेट संघ (क्यान) को आग्रह र प्रस्तावका कारण पुरुष क्रिकेट पहिले नै हुने भएको हो ।

समूह ‘ए’ मा रहेको कर्णालीले २३ भदौमा मूलपानी क्रिकेट मैदानमा लुम्बिनी प्रदेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

कर्णालीको टोली : रवीन्द्र जंग शाही(कप्तान), निश्चल रावल, अर्जुन घर्ती, अनुज चुनारा, दिवान पुन, प्रकाश जैशी, सुवोध ऐर, मिनाश थापा, विपिन शाही, हिमान्शु शाही, दिनेश अधिकारी, सुमित बुढाथोकी, बिपिन रावल र मोहन बिक ।

त्यस्तै, नवौं राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशले पनि टोली घोषणा गरेको छ । सुदूरपश्चिमले राजु रिजालको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।समूह ‘बी’ मा रहेको सुदूरपश्चिमले २३ भदौमा त्रिवि क्रिकेट मैदानमा एनआरएनविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

सुदूरपश्चिमको टोली : राजु रिजाल (कप्तान), शेर मल्ल, खडक बोहरा, मिलन बोहरा, नारायण जोशी, हेमन्त धामी, बसन्त कार्की, लोकेन्द्र चन्द, बसन्त खत्री, युवराज खत्री, भोजराज भट्ट, दिपक रोकाया, नरेन साउँद र दिलबहादुर बोहरा ।