जनकपुरधाम, २० भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण नगरे अदालत जाने चेतावनी दिएका छन् ।

सोमबार जनकपुरधाममा पार्टीका केन्द्रिय सदस्यहरूको बैठकमा सहभागी भएका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले संविधानतः राष्ट्रपतिलाई एक पटक मात्र फिर्ता गर्ने अधिकार रहेकाले अब दोस्रोपटकमा प्रमाणिकरण हुनेमा ढुक्क रहेको बताए ।

अध्यक्ष प्रचण्डले सत्तारूढ पाँच दलीय गठबन्धनले सिट संख्या टुंग्याइसकेको बताउँदै मधेस प्रदेशमा माओवादीले प्रतिनिधिसभामा ९ वटा सिट दावी गर्ने बताए ।

उनले संघ र प्रदेश टुंगिन बाँकी रहेको र बिहीबारसम्म छलफल गरेर क्षेत्र र प्रदेशको पनि टुंगो लाग्ने बताए ।

मधेस प्रदेशमा हाल माओवादीबाट प्रतिनिधिसभा सदस्यमा ६ जना निर्वाचित छन् ।

अध्यक्ष प्रचण्डले सोमबार महोत्तरीको खयरमारास्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयमा निर्माण हुन लागेको शैक्षिक भवनकोसमेत शिलान्यास गरेका छन् ।