काठमाडौं, २० भदौ । साझा प्रकाशनले पुस्ताकालय दिवस र दशैँको अवसर पारेर पुस्तक प्रदर्शनी सुरु गरेको छ ।

प्रकाशनले नेपाली साहित्यको संरक्षण, पाठकको सहजताका लागि भन्दै भदौ १९ देखि ३१ गतेसम्म पुस्तक प्रदर्शनीको आयोजना गरेको हो ।

पुस्तक प्रदर्शनीमा नेपाली साहित्यका विभिन्न विधाका पुस्तक राखिएको साझा प्रकाशनका महाप्रबन्धक प्रह्लाद पोख्रेलले बताए । नेपाली साहित्यका कथा, कविता, उपन्यास, निबन्ध र शब्दकोशलगायत विभिन्न पुस्तक प्रदर्शनीमा राखिएको उनले बताए ।

महाप्रबन्धक पोख्रेलले पुराना पुस्तक एक रुपैयाँदेखि ७ रुपैयाँ र सबैभन्दा महँगो २८ सयसम्म पर्ने पुस्तक प्रदर्शनीमा राखिएको उनले जानकारी दिए । उनले गत नयाँ वर्षमा गरिएको पुस्तक प्रदर्शनीमा पाठकले देखाएको उत्साहले साझा प्रकाशन उत्साहित भएको भन्दै पुस्तकालय दिवस र दशैँको अवसर पारेर प्रदर्शनी आयोजना गरिएको बताए ।

प्रदर्शनीमा ०४० सालभन्दा अगाडि प्रकाशित भएका पुस्तकमा ५० प्रतिशत, ०५० सालभित्र प्रकाशित भएका पुस्तकमा ४० प्रतिशत छुट र ०५१ सालपछि प्रकाशित भएका पुस्तकमा ३० प्रतिशत छुटको व्यवस्था गरिएको छ । शब्दकोशहरुमा २५ प्रतिशत छुट र साझा प्रकाशनबाहेक प्रकाशनका पुस्तकमा ३० प्रतिशत छुटको व्यवस्था गरेको उनले बताए ।