आँखाको कस्मेटिक सर्जरी गर्दै अभिनेत्री करिश्मा मानन्धर

काठमाडौं, १९ भदौ । नेपालमै अन्तर्राष्ट्रिय स्तरको आई कस्मेटिक सर्जरी सेवा उपलब्ध भएकाले अभिनेत्री करिश्मा मानन्धरले आफ्नो आँखाको तल्लो र माथिल्लो भागको कस्मेटिक सर्जरी गर्ने बताएकी छन् ।
ललितपुरको कुपण्डोलमा रहेको नेशनल आई एण्ड कस्मेटिक सर्जरी सेन्टरको सातौं वार्षिकोत्सवमा प्रमुख अतिथि भएर पुगेकी अभिनेत्री करिश्माले त्यहाँ आफ्नो आँखाको कस्मेटिक सर्जरी गर्ने बताएकी हुन् ।
‘आँखाको तलको भाग झोलिएको र माथिल्लो भागमा पनि केही समस्या देखिएकाले कस्मेटिक सर्जरी गर्ने योजनामा थिएँ । बैंककमा गर्नु पर्ने सर्जरी त्योभन्दा धेरै सस्तोमा यहीँ हुने भएपछि मैले नेशनल आई एन्ड कस्मेटिक सर्जरी सेन्टरमा आँखाको कस्मेटिक सर्जरी गर्ने निर्णय लिएँ ।’ अभिनेत्री करिश्माले सातौं वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै भनिन्,‘कस्मेटिक सर्जरीबाट आँखाको सुन्दरतासँगै मुहार नै सुन्दर देखिने भएपछि हामी कलाकारहरुलाई यो प्रविधि अझ उपयुक्त हुने भएको छ ।’ स्वदेशमै यो सेवा उपलब्ध हुनुले आफूहरुलाई अझ सजिलो भएको पनि उनले बताइन् ।
विगत सात वर्षदेखि आँखासम्बन्धी सबै समस्या र आँखासहित अन्तर्राष्ट्रिय गुणस्तरको कस्मेटिक सर्जरी आफूहरुले गर्दै आएको उक्त सेन्टरकी अध्यक्ष एवम् डा. पुजा राजभण्डारीले बताइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


