शैक्षिक संस्थाहरू राजनैतिक षडयन्त्रको अखडा बनेको एमालेनिकट प्राध्यापकहरूको गुनासो

जनकपुरधाम, १८ भदौ । नेपाल प्रगतिशील प्राध्यापक संघले मधेस प्रदेशको उच्चशिक्षामा राजनीतिकरण भएको आरोप लगाएका छन् ।
संघको दोश्रो प्रदेश सम्मेलनमा मधेस प्रदेशमा उच्चशिक्षा कार्यपत्र प्रस्तुत गर्दै शैक्षिक संस्थाहरू राजनैतिक षड्यन्त्रका अखडाको रुपमा स्थापित भएको प्रति प्राध्यापकहरूले चिन्ता व्यक्त गरेका हुन् ।
हरेक क्याम्पसमा हुने राजनैतिक भागबन्डा र क्याम्पस सञ्चालनमा संग्लन व्यक्तिको गुण दोषको आधारमा नभई राजनीतिक आस्थाका आधारमा सहयोग गर्ने परिपाटीको विकास हुँदै गएको उनीहरूको भनाइ छ ।
विश्वविद्यालय अनुदान आयोगको तथ्यांकअनुसार मधेस प्रदेशमा १३१ वटा क्याम्पस छन् । जसमध्ये ७ वटा आङ्गिक क्याम्पस, समबन्धन प्राप्त ४२ वटा सामुदायिक क्याम्पस र ८२ वटा निजी छन् ।
प्राध्यापकहरूले मधेस प्रदेशमा नियमित पठनपाठन नहुने, शैक्षिक गुणस्तर खस्कदै गएकोप्रति चिन्ता व्यक्त गर्दै प्रदेश सरकारको उदासिनतालाई लिएर आपत्ति जनाएका छन् ।
उच्च शिक्षाको जिम्मेवारी प्रदेशलाई दिए पनि सुधारको लागि प्रदेश सरकारले देखाएको उदासिनता नै परिणामस्वरूप उच्च शिक्षाको स्तर खस्कदै गएको प्राध्यापकहरूको बुझाइ छ । सम्मेलनको आयोजना नेकपा एमाले निकट प्राध्यापक संघले गरेको हो ।
मधेस प्रदेशका १३१ वटा क्याम्पसमध्ये बारामा ९ वटा, धनुषामा २७ वटा, महोत्तरीमा १२ वटा, पर्सामा १५ वटा, रौतहटमा १६ वटा, सप्तरीमा २० वटा, सर्लाहीमा ११ वटा र सिरहामा १३ वटा क्याम्पस छन् ।
एमालेले ओलीको पालामा मधेसमा आमूल परिवर्तन गर्यो : महासेठ
सम्मेलन उद्घाटनसत्रका प्रमुख अथिति नेकपा एमालेका केन्द्रीय सचिव रघुवीर महासेठले पनि प्राध्यापकहरूको चिन्ताप्रति ऐक्यबद्धता जनाए ।
मधेस प्रदेशको शिक्षामा अपेक्षित सुधार हुन नसकेको बताउँदै माहासेठले केही तत्वहरूले मधेशमा निक्कै षड्यन्त्र गरेको आरोप लगाए ।
उनले मधेस प्रदेशको शिक्षा सुधारमा नेकपा एमालेले मिहिनेत गरेको बताउँदै ओली सरकारको पालामा मधेशमा निक्कै परिवर्तन भएको दावी गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


