महोत्तरी ३ बाट चुनाव लड्न मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले दिए पदबाट राजीनामा

जनकपुरधाम, १८ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचन लड्नका लागि मधेस प्रदेशका मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले शनिबार पदबाट राजीनामा दिएका छन् ।
मुख्यन्यायाधिवक्ता झाले प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई आफ्नो राजीनामा पत्र बुझाएको बताएका छन् ।
झा महोत्तरी क्षेत्र नम्बर–३ बाट जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवार बन्न लागेका हुन् ।
झा शनिबार नै जनता समाजवादी पार्टीमा प्रवेश गर्न लागेका छन् । झालाई जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराउन लागेका हुन् ।
मधेश सरकार गठन भएपछि मुख्यन्यायाधिवक्ता बनेका झा लगातार पाँच वर्ष यो पदमा रहेका छन् ।
नेपालको संविधानको धारा १६०(२) बमोजिम झा मधेस प्रदेशको मुख्यन्यायाधिवक्ताको पदमा २०७४ फागुन ७ गते नियुक्ति पाएर काम कारवाही गर्दै आएका थिए ।
नेपालको संविधानको धारा १६० को उपधारा ४ को खण्ड (क) बमोजिम उनले पदबाट राजिनामा दिएको बताए ।
२०७४ को निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर–३ बाट लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


