नागरिकता विधेयक राष्ट्रियसभाबाट पनि हुबहु पारित

काठमाडौं, १७ भदौ । नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ राष्ट्रियसभाबाट पनि हुबहु पारित भएको छ।
शुक्रबार बसेको राष्ट्रियसभाको बैठकबाट नागरिकता विधेयक बहुमतबाट पारित गरिएको हो।
यसअघि बिहीबार बसेको पहिलो बैठकमा राष्ट्रियसभाअन्तर्गतको विधायन समितिले बैठकमा प्रतिवेदन पेस गरेको थियो ।
समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधिसभामा सन्देशसहित प्राप्त नागरिकता विधेयकसम्बन्धी प्रतिवेदन बैठकमा पेस गरेका थिए ।
समितिमा विधेयकमाथि दुई दिन छलफल भएर हुबहु पारित भएको थियो ।
संसदको दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि शीतल निवास पुगेको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि भन्दै सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् ।
प्रतिनिधिसभाले विधेयकलाई हुबहु पारित गरेको थियो ।
प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पठाइएको विधेयकलाई छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको थियो ।
विधायन व्यवस्थापन समितिले बहुमतका आधारमा विधेयकलाई हुबहु पारित गरेको थियो ।
राष्ट्रियसभाबाट पारित भएको विधेयक प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिसमक्ष पुग्नेछ ।
संसदको दुवै सदनबाट दोस्रोपटक पारित भएको विधेयक पुनः फिर्ता पठाउने संवैधानिक सुविधा राष्ट्रपतिलाई छैन ।
त्यसैले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दोस्रोपटक पारित भइसकेको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने हुन्छ।
राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेपछि विधेयकले कानुनको रूप लिनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


