एजेन्सी, १७ भदौ । श्रीलंका यूएईमा जारी टी–२० एसिया कप क्रिकेट प्रतियोगिताको सुपर फोरमा प्रवेश गरेको छ ।

गएराति सम्पन्न खेलमा बंगलादेशलाई २ विकेटले हराउँदै श्रीलंका समूह ‘बी’ को उपविजेताको रूपमा सुपर फोरमा प्रवेश गरेको हो ।पहिलो खेलमा श्रीलंका अफगानिस्तानसँग ८ विकेटले पराजित भएको थियो ।

बंगलादेश भने लगातार दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । आफ्नो दोस्रो खेलमा बंगलादेशले दिएको १८४ रनको लक्ष्य श्रीलंकाले १९.२ ओभरमा ८ विकेट गुमाएर पूरा ग¥यो । उसका लागि कुशल मेन्डिसले उत्कृष्ट पारी खेले । ३७ बलको सामना गरेका उनले चार चौका र तीन छक्कासहित ६० रन बनाए ।

कप्तान दासुन शानकाले ३३ बलमा तीन छक्का र दुई चौकाको मद्दतमा ४५ रन जोडे । पथुम निशंका २०, चमिका करुणारत्ने १६ र धनुष्का गुणथिलका ११ रनमा आउट भए ।

यही खेलमा डेब्यु गरेका असिथा फर्नान्डोले तीन बलमा अविजित १० रन बनाए । बंगलादेशका लागि इबादोत हुसेनले तीन, तस्किन अहमदले दुई, मुस्तफिजुर रहमान र मेहदी हसनले एक/एक विकेट लिए ।

त्यसअघि दुबई अन्तर्राष्ट्रिय मैदानमा टस हारेर ब्याटिङको मौका पाएको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८३ रन बनायो । उसका लागि अफिफ होसेनले ३९, मेहदी हसन मिराजले ३८, महमुदुल्लाहले २७, कप्तान शाकिव अल हसनले २४, मोसाद्देक होसेनले अविजित २४ रन बनाए ।

श्रीलंकाका लागि चमिका करुणारत्ने र वानिन्दु हसरंगाले सर्वाधिक दुई/दुई विकेट लिए । योसँगै सुपर फोरमा पुग्ने तीन टोलीको टुंगो लागेको छ । समूह ‘बी’ बाट अफगानिस्तान र श्रीलंका तथा समूह ‘ए’ बाट भारत सुपर फोरमा पुगेका हुन् ।